Categories अर्थ समाचार

वीरगञ्ज भन्सारले ६ महिनामा लक्ष्यको ६१ प्रतिशत राजस्व सङ्कलन गर्यो

Advertisement

वीरगञ्ज । पर्साको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९÷८० को छ महिनाको अवधिमा लक्ष्यको ६१ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

चालु आवको साउनदेखि पुससम्ममा रु एक खर्ब २२ अर्ब ७७ करोड १८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ६१ दशमलव २७ प्रतिशत अर्थात् रु ७६ अर्ब ६३ करोड चार लाख राजस्व सङ्कलन भएको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए ।

Advertisement

उनका अनुसार सो भन्सार कार्यालयको चालु आवमा रु दुई खर्ब ६१ अर्ब ९९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य छ । हालसम्म वार्षिक लक्ष्यको ५१ प्रतिशत राजस्व सङ्कलन भएको सूचना अधिकृत ढकालले बताए ।

Advertisement

सो भन्सार कार्यालयले गत आव २०७८÷७९ मा लक्ष्यको ९३ प्रतिशत र आव २०७७÷७८ मा लक्ष्यको ९७ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । चालु आवमा पनि लक्ष्यानुसार राजस्व सङ्कलन हुने सम्भावना कम रहेको सूचना अधिकृत ढकालको भनाइ छ ।

समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा ‘एलसी‘ खोल्नमा कडाइ गरिएकाले पनि राजस्व सङ्कलन घटेको सूचना अधिकृत ढकालले बताए ।

सरकारले मदिरा, मोबाइल, गाडीको आयात खुला गरे पनि आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था हुने उनको भनाइ छ ।रासस

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *