Categories समाचार

निर्माणाधिन पुलमा गुणस्तरहीन सामग्री भेटेपछि काम रोक्न प्रमुख सिंहको निर्देशन

वीरगञ्ज । पप्पु कन्स्ट्रक्सनले गुणस्तरहीन सामग्री प्रयोग गरेर सिर्सिया खल्वाटोलामा पुल निर्माण गरिरहेको भेटेपछि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले निर्माण रोक्का गर्न लगाएका छन् ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्वर २५ सिर्सिया खल्वाटोलामा निर्माणाधिन पुलमा गुणस्तरहीन सामग्री प्रयोग गरेर पप्पुले ढलान सुरु गर्न लागेको थियो ।

Advertisement

सोमबार अनुगमनमा पुगेका महानगर प्रमुख सिंहले ठेकेदार कम्पनीले बालुवा प्रयोग गर्न पर्नेमा पांगो माटो प्रयोग गरेर ढलान गर्न लागेको भेटेपछि काम रोक्न निर्देशन दिनुभएको उहाँको स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।
सघन सहरी विकास आयोजनाले गएको २०७४ मै पुल निर्माणका लागि ठेक्का लगाएको भए पनि ठेकेदार कम्पनीले निर्माण अलपत्र पारेर छाडेको थियो ।

Advertisement

महानगर प्रमुखमा निर्वाचित भएर आएसँगै सिंहको दबाबमा ठेकेदार कम्पनीले पुल निर्माणको काम अघि बढाएको थियो ।
तर अहिले पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको भेटेपछि महानगरप्रमुख सिंहले काम रोक्नुका साथै स्टिमेट अनुसारको सामग्री प्रयोग गरेर मात्रै काम अघि बढाउन दिर्नेशन दिएका छन् ।

यता सघन सहरी विकास आयोजना कार्यालय वीरगञ्जका प्रमुख झपट बहादुर थापाले पप्पुले पुल निर्माणमा कमसल सामग्री प्रयोग गरेको जानकारी आए पछि काम रोकेको बताएका छन् ।
‘महानगर प्रमुखले जानकारी गराएपछि कार्यालयबाट हाम्रा इन्जिनियरहरु पनि साइटमा पुगे,’ उनले भने ‘त्यहाँ गुणस्तरहीन सामग्री प्रयोग गरेको भेटेपछि आफूहरुले ठेकेदार कम्पनीलाई काम रोक्न लगाएका छौँ ।’

गुणस्तरहीन सामग्री प्रयोग गरेर निर्माण गरेका संरचना हटाउन र पुनः गुणस्तरीय सामग्री राखेर निर्माण गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको पनि उनले बताए ।
सघन सहरीले महानगरका विभिन्न १७ सडकको ठेक्का लगाउँदा उक्त पुल पनि एकै पटक सोही ठेक्कामा पप्पुले सकार गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *