काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भाग लिएका उम्मेदवारहरूले समयमा निर्वाचन खर्च विवरण नबुझाएपछि गरिएको जरिवाना मिनाहा गरेकी छन् ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम जरिवानाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालय शीतल निवासका सहायक प्रवक्ता लीलाकान्त पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
आयोगले स्थानीय तहका उम्मेदवारहरुले समयमा निर्वाचन खर्चको विवरण नबुझाएपछि जरिवाना तोकेको थियो । जरिवाना धान्नै नसक्ने भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
सर्वोच्चले पनि आयोगले तोकेको जरिवाना लिने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरिसकेको छ ।



