काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
राजनीतिक अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री प्रचण्डविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणस कल्याण बुढाथोकीले आज रिट दर्ता गराएका हुन् । सर्वोच्चले उक्त रिट ०७९/९४७ नम्बरमा दर्ता गरे बिहीबारका लागि पेसी तोकेको छ ।
यसअघि नै उनीहरुले प्रचण्डविरुद्ध रिट दर्ता गर्न खोजे पनि सर्वोच्च अदालतले दर्ता मानेको थिएन । सर्वोच्चले राजनीतिक अभिव्यक्तिमा टेकेर दर्ता गर्न ल्याइउका रिट निवेदन दरपीठ गर्ने गरेको थियो । तर गत शुक्रबारन्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश दिएपछि आज रिट निवेदकहरु पुनः दर्ता गराउन पुगेका हुन् ।
प्रचण्डले २०७६ माघ १ काठमाडौँको टुँडिखेलमा आयोजित एक कार्यक्रममा १० वर्षे सशस्त्र द्वन्द्वकालमा मारिएकाहरुमध्ये ५ हजारको जिम्मा आफूले लिने बताएका थिए । उनको सोही अभिव्यक्तिलाई प्रमाणका रुपमा लिएर छानबिन गरी कारबाही गर्न माग रिट निवेदकहरुले गरेका छन् ।



