वीरगन्ज । पर्सा प्रहरीले होलीका दिन सुरक्षा व्यवस्था कडा पारेको हुँदा जिल्लामा शान्तिपूर्ण तरिकाले होली पर्व सम्पन्न भएको छ ।
जिल्लामा फाँटफुट दुर्घटना र झैँझगडाका घटना भएपनि कुनै अप्रिया घटना नभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सा प्रहरीले होलीका दिन ट्राफिक नियमको पालना नगर्ने र झैँझगडा गर्ने २८ जनालाई नियन्त्रणमा समेत लिएको छ । उनीहरुलाई जिल्लाका विभिन्न संवेदनशील स्थानहरुमा पिकेट ड्युटी तथा ट्राफिक प्रहरीद्वारा संयुक्त चेकिङ्ग गर्ने क्रममा नियन्त्रणमा लिइएको हो ।
प्रहरीले जिल्लाको विभिन्न स्थानबाट ट्राफिक नियमको पालना नगर्ने १ सय ५३ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

लाईसेन्स बिना सवारीसाधन चलाउने, दुईजना भन्दा बढी सवार भएर मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, होहल्ला गर्दै सवारी चलाउने जस्ता क्रियाकलाप गर्नेहरुको मोटरसाइकल नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक गिरीले जनाएका छन् ।

डिएसपी गिरीले होलीका दिन जिल्लामा १० वटा दुर्घटना भएको जसमध्ये ९ वटा सामान्य दुर्घटना रहेको बताए ।
उनले पक्राउ परेका सबै मानिस र सवारीसाधनमाथि आवश्यक कारबाही भइरहेको जानकारी गराए ।








