वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा ४५ दिने कम्प्युटर लेखा तालिम आइतवारदेखि सुरु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नमबर ३ को कार्यालयको सहयोग र यु डि बाइ सेफ कम्प्युटर एजुकेशनको आयोजनामा तालिम सुरु भएको हो ।
वडा नम्बर ३ का वडाअध्यक्ष बैजुलाल स्वर्णकारले तालिमको उद्घाटन गर्दै युवाहरुको क्षमता विकासलाई वडाले प्राथमिकता दिएको बताए । वडाका युवालाई सीप सिकाएर दक्ष बनाई आयआर्जन गर्नका लागि अभिप्रेरित गर्न तालिम सञ्चालन गरिएको वडाअध्यक्ष स्वर्णकारले बताए ।
अध्ययन सकेर यत्तीकै बसीरहेका युवालाई सीप सिकाएर आत्मनिर्भर बनाउन तालिम उपयोगी हुने उनको विश्वास छ । तालिमबाट प्राइभेट कम्पनी फर्म सरकारी तथा गैरसरकारी संघ, संस्था, निजी व्यापार, व्यवसाय संचालन गर्न वा रोजगार कार्यमा राहत पुग्ने उनले बताए ।
यु डि बाइ सेफका अध्यक्ष बंशीधर गुप्ताको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा वडा सचिव दिनेश प्रसाद कुशवाहा, वडा सदस्य अब्दुल कलाम, राजीव कुमार श्रेष्ठ, महिला सदस्य संगीता दास, बरकुतिन नेसा, प्रशिक्षक बंशीधर गुप्ता, सहायक प्रशिक्षक अभिजित चौधरी लगायतको उपस्थिती रहेको थियो । तालिममा २५ जनाको सहभागीता छ ।







