वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित वीरगञ्जका २० वर्षिय एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ई-रिक्सा चालक वीरगञ्ज महानगरपालिका वडा नम्बर १५, भिष्वा बस्ने २० वर्षका बलजित यादव रहेका छन् ।
प्रहरी चौकी ईनर्वाले शनिबार राति करिब ०९:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेट स्थित सडक खण्डमा यादव पक्राउ परेका हुन ।
वी.म.न.पा. १ ह १-०११८ नम्बरको ई-रिक्सा संकास्पदरूपमा भारतको रक्सौल बाट वीरगञ्ज तर्फ आउँदै गरेकोमा चेकजाँचमा खटिएको प्रहरी टोलीले कानूनी रीत पुर्याई चेकजाँच गर्दा उक्त ई-रिक्सा चालक यादवले ई-रिक्साको सिट मुनी लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध Onerex 100 ml लेखीएको सिरफ ५ कार्टुनमा १ सय ७८ बोतल फेला परेको थियो ।
उक्त लागु औषध, ई-रिक्सा र ई-रिक्सा चालक यादवलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय पर्सामा लागू औषध सम्बन्धी कसुरमा आईतबार पर्सा जिल्ला अदालत बाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भैरहेको पर्साका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताए ।



