अमित अग्रवाल
वीरगञ्ज । विश्व क्षयरोग दिवस शुक्रबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । ‘हो हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने नारासहित शुक्रबार यो दिवस विश्वभर मनाइदैछ ।
वीरगञ्ज महानगरपालिकाको जन स्वास्थ्य प्रवर्द्धन शाखाले पनि आज विभिन्न कार्यक्रम गरि दिवस मनाउँदै छ ।शाखाको तय कार्यक्रम अनुसार आज बिहान घण्टाघर बाट सचेतनामुलक रैली शुरु गरि आदर्शनगर हुदै घण्टाघर आइ कोणसभा गरिएको थियो ।
रैलीमा सहभागी भएका विभिन्न वडाका स्वास्थ्यकर्मीले सचेतनामुलक प्लेकार्ड बोक्नुका साथै पम्पलेट वितरण समेत गरेका थिए ।

महानगर स्वास्थ्य शाखामा कार्यरत तथा क्षयरोग रोकथामका फोकल पर्सन सुमनचन्द्र ठाकुरको संयोजकत्वमा भएको रैलीमा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रितेश जैसवाल थिए । बिशिस्ट अतिथिमा स्वास्थ्य कार्यालय पर्साका विनोद झा र अतिथिमा डाक्टर उदयनारायण सिंह, बिजामका अनोज खडका रहनुभएको थियो ।
महानगर मातहत रहेको ३४ ठाउँको स्वास्थ्य संस्थामा पनि सचेतनामुलक कार्यक्रम गरि विश्व क्षयरोग दिवस मनाइरहेको फोकल पर्सन ठाकुरले जानकारी गराए ।
क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ ।

नेपालमा क्षयरोगबाट प्रत्येक दिन करिब ४७ जनाको मृत्यु हुने गरेको छ । यस्तै दैनिक १ सय ९० जना हाराहारीमा क्षयरोगीका नयाँ बिरामी थपिने गरेका छन् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार मुलुकमा हाल १ लाख १७ हजार क्षयरोगका विरामी छन् भने वर्सेनी ६९ हजार नयां विरामी थपिने गरेका छन् ।
मुलुकका क्षयरोका कारण वर्षेनी १७ हजार जनाले ज्याउन गुमाउनु परेको केन्द्रको तथ्याङक छ । विश्वमा झने वार्षिक १ करोड व्यक्तीलाई क्षयरोगको संत्रमण हुने गरेको छ भने १५ लाख जनाले सोही रोगबाट ज्यान गुमाउने गरेका छन् ।
विश्वमै पछिल्लो समय औषधि प्रतिरोधी क्षयरोगको गम्भीर चुनौती थपिएको विभिन्न अध्ययनले देखाएका छन् । औषधि प्रतिरोधी क्षयरोगबाट संक्रमित एक जना विरामीको उपचारका लागि कम्तिमा १० लाख खर्च लाग्ने चिकित्सकहरु बताउछन् ।
यसैबीच विश्व क्षयरोग दिवस चेतना मुलक विभिन्न कार्यक्रम गरी आज मनाईदैछ । यो वर्षको अन्तराष्ट्रिय नारा हो हामी क्षयरोग अन्त्य गर्छौ तय गरिएको छ ।







