Categories समाचार

सिद्धार्थ बैंकद्वारा निर्मित डायलाइसिस भवन नारायणी अस्पताललाई हस्तान्तरण

Advertisement

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा डायलाइसिस भवन निर्माण भइ सञ्चालनमा आएको छ । सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै राउण्ड टेबल नेपालसँगको समन्वयमा निर्माण गरेको डायलाइसिस भवनको स्वामित्व बुधवार एक समारोहका बिच अस्पताललाई हस्तान्तरण गरिएको हो ।
सिद्धार्थ बैंकका सञ्चालक समिति अध्यक्ष मनोज केडियाले बैंकले व्यवसायिक कारोवारसँगै सामाजिक कार्यलाई पनि निरन्तरता दिँदै आएको बताए । नारायणी अस्पतालमा डायलाइसिसका बिरामीको उपचारका लागि भवन अभावको समस्यालाई मध्यनजर गर्दै बैंकले यसमा आर्थिक सहयोग गरेको केडियाको भनाई छ ।

उनले भवन निर्माणमा मात्रै बैंकको जिम्मेवारी नसकिएको बताउँदै आगामी दिनमा अस्पतालको सेवा प्रवाहलाई चुस्त दुरुस्त एवम् व्यवस्थित र प्रभावकारी बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । ‘अस्पाल हामी सबैको हो, अझ न्यून र मध्यम वर्गीय परिवारको आशाको केन्द्र पनि हो । यसलाई व्यवस्थित बनाउने र यहाँको सेवा प्रवाहलाई चुस्त बनाउने हामी सबैको दायित्व हो । बैंकको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट मैले गर्न सक्ने कामका लागि सँधै तयार छु, तपाईहरु पनि आफ्नो दायित्व निर्वाह गर्नुहोस्’, केडियाले भने ।

Advertisement

डायलाइसिस भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिले भवन सही रुपमा सदुपयोग हुने र प्रभावित बिरामीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । अस्पतालको वातावरण हेरेरै बिरामीको आधा रोग निको हुने गरी व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै उनले सरकारी कामकाजको ढिलासुस्तीमा आवश्यक स्रोतको अभाव रहेको औँल्याए । निजी क्षेत्र र सरकारी क्षेत्रबिचको समन्वय र सहकार्यले नै समृद्धि हाँसिल गर्न सकिने प्रमुख जिल्ला अधिकारी रेग्मिको बुझाई छ ।

Advertisement

भवनको सही रुपमा उपयोग हुने विश्वास दिलाउँदै नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्रञ्जन साहले अस्पतालको ठूलो समस्या समाधान भएको बताए । यस भवनबाट डायलाइसिसका बिरामीको उपचारमा टेवा पुग्ने बताउँदै उनले आगामी दिनमा अस्पतालले सेवाको दायरालाई अझै फराकिलो पार्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेल र राउण्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवालले आगामी दिनमा पनि बैंक र राउण्ड टेबल नेपालले सहकार्य गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने दृढता देखाएका छन् ।

सिद्धार्थ बैंकका मधेश प्रदेश प्रमुख प्रबिन ढुङ्गेलले स्वागत मन्तव्यका क्रममा बैंकले २ दशकभन्दा लामो समयदेखि व्यवसायिक कारोवारसँगै सामाजिक कार्य गर्दै आएको जानकारी गराए । देशैभर १ सय ९४ वटा शाखाबाट सेवा प्रवाह गरीरहेको बताउँदै उनले उद्योगी व्यवसायीहरुसँग पनि सहकार्य गर्दै उत्पादनशिलता र उद्यमशिलतालाई बैंकले बढावा दिने गरेको बताए ।

सिद्धार्थ बैंकले नारायणी अस्पतालमा डायलाइसिस भवन निर्माण गर्न २६ असोज २०७९ मा नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग सम्झौता गरेको थियो । सोही सम्झौता बमोजिम बैंकले उपलब्ध गराएको ५५ लाखको लागतमा महाविर कन्स्ट्रक्शनले निर्माण सम्पन्न गरेसँगै बुधवार एक समारोहका बिच डायलाइसिस भवनको स्वामित्व अस्पताललाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्य शुभचिन्तकले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *