अन्जु कुमारी
वीरगन्ज । प्रधानमन्त्री शेर बहादुर देउवा अहिलेको सत्तागठबन्धन आगामी चुनाव सम्म नै कायम रहने बताउनु भएको छ ।
आज वीरगन्जमा नेपाली काँग्रेस पर्साका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पाच दलीय गठबन्धन चुनाव सम्म कायम रहने बताउनु भएको हो ।
काँग्रेस सभापति समेत रहेका देउवाले एक्लै चुनाव लड्दा कुनै पनि दलको बहुमत आउने अवस्था नदेखिएकाले आगामी तीनै तहको निर्वाचनमा काँग्रेसले गठबन्धनमा रहेका दलहरुसंग मिलेर चुनाव लड्ने बताउनुभयो ।
त्यसैले गठबन्धनका अन्य सहयात्री दलहरु चिढ्याउने काम नगर्न नेता कार्यकर्ताहरुलाइ उहाले निर्देशन पनि दिनुभयो ।संविधानको रक्षा र लोकतन्त्रलाइ संस्थागत गर्न पनि गठबन्धनका दलहरु बिचको सहकार्य र एकता आवश्यक रहेको देउवाले बताउनुभयो ।
यसका साथै काँग्रेस पार्टी र देशको हितमा पनि गठबन्धनलाइ कायम राख्नु आवश्यक रहेको उहाले बताउनुभयो ।एमसीसी परियोजना मुलुकको हितमा रहेको उहाले जिकिर गर्नुभयो ।
एमसीसी परियोजना , ऋणमा नभइ अनुदानमा आएको परियोजाना रहेको भन्दै प्रधानमन्त्री देउवाले यसले देशको विकासमा सहयोग पुग्नुका साथै रोजगारी पनि सृजना गर्ने बताउनुभयो ।नेपाल , दुइ ठूला छिमेकी देशको बिचमा रहेको भन्दै उहाले दुवै छिमेकीसंग नेपालले समदुरी र सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले पर्साको पोखरीया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनीयारलाइ काँग्रेस पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा प्रवेश गराउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्यद्वय रमेश रिजाल र अजय चौरसीया , पुर्वमन्त्री सुरेन्द्र चौधरी , नवनिर्वाचित जिल्ला सभापति जनार्दन सिंह क्षेत्री , संविधानसभा सदस्य अनिल रुंगटा लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।







