Categories समाचार

झुक्याएर जग्गा बैना गरी ४५ लाख ठगी

Advertisement

काठमाडौं- जग्गा बैना गरी ४५ लाख रुपैयाँ तिरेकी एक महिला ठगीमा परेको खुल्न आएको छ । काठमाडौँ महानगरपालिका–३२ बस्ने मोरङ बेलबारी नगरपालिका–३ की ४० वर्षीया ती महिलालाई जग्गा खरिदका लागि मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेस्ता रहेको चार आना जग्गा नाप जाँच गरी राजिनामा पास गरी दिने भनी लोभ देखाएर ठगी गरेको पाइएको छ ।

भक्तपुर साविक दुवाकोट गाविस–१ मा रहेको जग्गाप्रति आना २१ लाखका दरले मूल्य तय गरी विभिन्न बैंकको चेकबाट पटकपटक गरी ४५ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क विहीन भएपछि महिलाले आफू ठगीमा परेको थाहा पाएको प्रहरीले जनाएको छ ।

Advertisement

रकम ठगी गर्ने कार्यमा संलग्न अभियोगमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-४ बस्ने ललितपुर महानगरपालिका-३ का ४९ वर्षीय ध्रुवप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–१ दरबार मार्गबाट पक्राउ गरी अनुसन्धान थालेको हो । उनलाई आवश्यक कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कागेश्वरी मनहरा नगरपालिका–२ गोकर्णेश्वर बस्ने ३६ वर्षीय नवराज धिमाललाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ असोज १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा रु २० लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

धिमालले प्राइम बैंक लिमिटेड बागबजारको आफ्नो नामको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएकामा उक्त चेक नसाटिएपछि मुद्दा परेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *