वीरगन्ज । पर्साको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र ठोरीलाई एक भव्य कार्यक्रमबिच मधेस प्रदेश सरकारले प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेको छ ।
मधेस प्रदेश सरकारको आज ठोरीमा सम्पन्न मन्त्री परिषद्को बैठकले ठोरीलाई प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिनुभयो ।
ठोरीको जङ्गल रिसोर्टमा आज सम्पन्न मधेस प्रदेशको मन्त्रिपरिषद्को बैठकले ठोरीलाई पर्यटकीय क्षेत्र बनाउन गरेको निर्णय मुख्यमन्त्री राउतले आज अपराह्न होटेल परिसरमा आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभएको छ ।
घोषणा सभामा ठूलो सङ्ख्याका स्थानीय बासिन्दासँगै मधेस प्रदेश सरकारका मन्त्रीहरू, मन्त्रालयका सचिवहरू, सञ्चारकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थित थियो ।
विगतमा सबै दृष्टिकोणबाट पिछडिएको ठोरी गाउँपालिकामा सडक, विद्युत्, खानेपानी लगायतका पूर्वाधार पुग्न थालेपछि अहिले ऐतिहासिक ठोरी क्षेत्र विकास र समृद्धितर्फ लम्कँदै गएको छ ।
मधेस प्रदेशकै पर्यटकीय क्षेत्र घोषणा भएसँगै ठोरीले अब पर्यटन प्रवर्द्धनमा ठूलो फड्को मार्ने अपेक्षा स्थानीय बासिन्दाले गरेका छन् ।
मधेस प्रदेश सरकारले ८ जिल्लामध्ये पहिलो पटक औपचारिक रुपमा पर्साको ठोरीलाई पर्यटकीय स्थलको रुपमा गुरु योजना सहित विकास गर्न पर्यटकीय क्षेत्र घोषणा गरेपछि त्यस क्षेत्रका बासिन्दा हर्षित भएका छन् ।







