Rato Pana
समाचार

निर्वाचन आयोगमा गुनासो वा उजुरी गर्न कल सेन्टरको व्यवस्था

काठमाडौँ । निर्वाचन आयोगले नागरिक एवं मतदाताले टोलफ्री नम्बरमा सम्पर्क गरेर निर्वाचन आचारसंहिता उल्लङ्घनबारे गुनासो वा उजुरी गर्न सक्ने व्यवस्था मिलाएको छ ।

आगामी २०७९ साल वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी आयोगले सुरु गरेको ‘कल सेन्टर’मा उजुरी वा गुनासो गर्न सकिने छ । निर्वाचन आचारसंहिता–२०७८ ले गरेको व्यवस्थाबमोजिम आयोगले कल सेन्टर सुरु गरेको हो ।

आचारसंहिता पालना गर्नुपर्ने उम्मेदवार वा आचारसंहिता लागू हुने संस्था, निकाय वा व्यक्तिले उल्लङ्घन गरेको पाइए सूचना दिन सक्ने व्यवस्था गरेको छ । आयोगको निर्वाचन आचारसंहिता भने अझै लागू भइसकेको छैन ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्गलबार काठमाडौँस्थित आयोगको कार्यालयमा कल सेन्टरको उद्घाटन गर्नुभयो । विराटनगरबाट अच्युत दाहालले मतदाता नामावलीमा आफ्नो नामबारे जानकारी लिन गर्नुभएको प्रश्नको प्रमुख आयुक्त थपलियाले जवाफ दिनुभयो ।

आयोगका उपसचिव एवं योजना अनुगमन तथा वैदेशिक सम्बन्ध शाखाका प्रमुख कमल भट्टराईले सर्वसाधारणले आचारसंहिता उल्लङ्घनबारे टोलफ्री नम्बरमा जानकारी गराउन सक्ने र आयोगले जानकारी पाएलगत्तै छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

सम्वन्धित समाचार

Leave a Comment