पर्सा । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । शनिबार विश्व हिन्दु परिषद नेपाल पर्साले वीरगन्जमा पनि विशाल शोभा यात्रा निकालेको छ ।
वीरगन्ज महानगरपालिका क्षेत्रका ३२ औं वडाका स्थानिय, ग्रामिण भेग तथा बाराका हिन्दु समुदायको विशेष उपस्थितिमा वीरगन्जमा झाँकी सहित विशाल शोभा यात्रा निकालेको हो । विभिन्न क्षेत्रबाट बाँजागाजा सहित निकालिएको शोभा यात्रा घण्टाघर चोकमा भेला भई हजारौंको संख्यामा सहभागि विशाल शोभा यात्रा वीरगन्ज महानगरपालिका परिक्रममा गरेको थियो । घण्टाघर चोक देखि छपकैया चोकसम्म करिब साढे तीन किलो मिटर लामो हजारौंको सहभागितामा हिन्दु समाजले ऐतिहासिक हनुमान जयन्तीको विशाल शोभा यात्रा निकालेका हुन । चर्को घामको परवा नै नगरी भव्य रुपमा शोभा यात्राको आयोजना गरिएको थियो । शोभा यात्रामा सहभागि रामभक्त हनुमान भक्तलाई विभिन्न संघ सस्थाले ठाउँ ठाउँमा जल पिलाउँने व्यवस्था समेत गरेका थिए ।

श्री राम भक्त हनुमानको जय जय कार, तथा जय श्री रामको नारा लगाउँदै नाच्दै झुम्दै शोभा यात्रा निकालिएको हो । शोभा यात्रा नगरपरिक्रममा पश्चात घण्टाघर चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै विश्व हिन्दु परिषद नेपालका महासचिव जितेन्द्र प्रसाद सिंहले भगवान हनुमानको जीवनी बारे चर्चा गर्दै, भगवान श्री हनुमानले हिन्दु समाजलाई उचित व्यवस्थापन गर्न दिनुभएको सन्देशलाई सम्पूर्ण हिन्दु समाजले पालना गर्नुपर्ने धाराणा राखे । उहाँले भन्नु भयो, जसरी हनुमान भगवानले श्री राम जीको आदेशलाई पालना गरी आफनो धर्मको रक्षा गर्नुभयो, त्यसरीनै हिन्दु समाज आफनो व्यवस्थापन गरी देशको अस्मिता, स्वाभिमान र गरिमा जोगाउँन हिन्दु समाज देशको सुरक्षा निकाय संग काँधमा काँध जुटाएर अगाडी बढ्न तयार छौ ।
यो कार्यक्रममा एउटा एतिहासिक कार्यक्रम रहेको बताउँदै, उहाँले भन्नु भयो, ‘यो कार्यक्रम कसैलाई डराउँनु, वा तर्साउँनको लागि गरिएको होईन हिन्दु समाज र नेपाललाई संगठित समाज र सशक्त समाज बनाउँनको लागि यो प्रयास गरिएको हो ।’ विधर्मीहरुले यसलाई अन्यथा नलिए हुन्छ, हिन्दु समाजमाथि भईरहेको प्रहार रोकिएन भने, यसको परिणाम ठूलो हुन्छ, आज टेलर मात्र थियो, पुरा फिल्म हेराउँन बाँकी नै छ उहाँले भन्नु भयो । शोभा यात्रामा वीरगन्ज महानगरपालिकाका महानगर प्रमुख विजय कुमार सरावगी, विश्व हिन्दु परिषद नेपालका महासचिव जितेन्द्र प्रसाद सिंह लगायतको हजारौं हिन्दु समुदायको सहभागिता रहेको थियो ।
भगवान श्री हनुमान को हुन् ?

संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ । हनुको अर्थ चिउँडो हो । यो हन् धातुबाट बनेको छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भन्ने हुन्छ । अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान् रामभक्त थिए भनिन्छ । भगवान् रामको जीवनमा भएका घटनाले हनुमानको व्यक्तित्वलाई सर्वप्रतिष्ठित ‘देव’ बनाइदियो । भय मनुष्यको मूलभूत प्रवृत्ति हो । दुष्ट आत्माको प्रकोपबाट बचाउनेवाला शक्तिको नाम हनुमान हो । पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो । हात्तीलाई शुभ मानिन्थ्यो ।

हनुमानलाई ‘मङ्गलमूरत’को रूपमा अथवा सङ्कट मोचकको रूपमा पूजन गर्न थालियो । त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिका लागि ‘हनुमान चालिसा’ को पाठ गर्ने परम्परा शुरु भयो । हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ । शतरुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेका थिए ।
यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ । रामायण नै हनुमानको बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रूपमा जन्म लिनुभएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रूपमा हनुमानले पनि जन्म लिएको वर्णन गरिएको छ ।
स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन भन्ने व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनी वर्णन गरिएको छ ।
यस अवसरमा आज स्त्री–पुरुष, बाल–वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजा आराधना गर्दछन् । हनुमानलाई बजरङ्गबलि पनि भनिन्छ किनकि हनुमानको शरीर एक बज्रको समान थियो ।

हनुमान पवनपुत्रको रूपमा चिनिनु हुन्छ किनभने पवन देव (हावाको देवता)ले हनुमानको पालनपोषणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पाँचमुखी, अत्यन्त तेजस्वी पराक्रमी, पञ्चतत्व र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै काम पूर्ण हुन्छन् भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् ।
हनुमानको पूजा आराधना गरेमा रोग व्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ । हनुमानले भक्तियोग र कर्मयोगद्वारा रामको निकटता प्राप्त गर्नुभएको थियो । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिको लागि पनि पूजा गर्ने चलन छ ।

आठ प्रकारका यौगिक शक्ति अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व हनुमानमा थिए । हनुमानलाई परब्रह्म र रौद्ररूपमा पनि स्मरण गरिन्छ । हनुमानको मूर्तिमा सिन्दुर लगाइएको हुन्छ । सिन्दुरले हड्डी एवं मांशलाई सुसङ्गठित शरीर निमार्णमा भूमिका खेल्दछ । यस अवसरमा आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना गर्नुका साथै शोभायात्रा निकालिन्छ ।
मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिएकामा यस वर्ष हनुमान जयन्ती शनिबार नै परेकाले पनि विशेष अवसर मानिएको छ । आज हनुमानको आराधना गर्नु अझ राम्रो हुने धर्मशास्त्रविद्हरुको भनाई छ ।







