Categories शिक्षा समाचार

घूस लिएर नौजनाको फर्जी नियुक्ति गरेका शिक्षकमाथि अनुसन्धान

Advertisement

वीरगंज । पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा लाखौं रकम घूस लिएर नौजना शिक्षकको फर्जी नियुक्ति गरेका शिक्षक जिल्ला प्रशासन कार्यालय, पर्सामा सोमवार उपस्थित भएका छन्।

जिल्ला प्रशासन कार्यालयका विभिन्न पत्र र निर्देशन अटेर गर्दै आएका वीरगंज महानगरपालिका–३ प्रगतिनगरस्थित महानगर आधारभूत विद्यालयका पूर्वप्रअ उमेश ठाकुर आज जिप्रकामा उपस्थित भएका हुन्।

Advertisement

जिल्ला प्रहरी कार्यालयले उनलाई उपस्थित हुन निर्देशन दिएको थियो। यसअघि, जिल्ला प्रशासन कार्यालय, पर्साले प्रअ ठाकुरको नाममा, वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको नाममा उपस्थित हुनुपर्ने पत्र तथा निर्देशन दिए तापनि ती निर्देशनको उनले खिल्ली उडाउँदै आएका थिए र पत्र बुझ्न मानेका थिएनन्।

Advertisement

त्यसपछि जिल्ला प्रशासनले उनलाई यथाशीघ्र उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयको नाममा असार १ गते पत्राचार गरेको थियो। एक वर्षअघि तत्कालीन नगरप्रमुख विजयकुमार सरावगीको पालामा ती प्रअले महानगर आधारभूत विद्यालयमा छजना शिक्षक र तीनजना बालविकास गरी नौजनाको फर्जी नियुक्ति गरेका थिए। महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले दरबन्दी दिने मौखिम आश्वासन दिएपछि ठाकुरले एकजनासँग दुईदेखि तीन लाखसम्म घूस लिएर नौजनाको फर्जी नियुक्ति गरेका थिए।

नियुक्ति भएर पनि करीब छ महीनासम्म तलबभत्ता नपाएपछि ती कर्मचारीहरूले गत माघ ४ गते तलबभत्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सामा उजूरी दिएपछि फर्जी शिक्षक नियुक्ति प्रक्रियाको घटना सार्वजनिक भएको थियो। त्यसपछि सो विद्यालयको प्रअको कार्यकक्षमा एकजनाले राति आगजनी गरेको घटना सार्वजनिक भएको थियो। फर्जी शिक्षक प्रक्रियाको प्रमाण मेटाउन पूर्वप्रअ ठाकुरले नै सो घटना घटाएको हुन सक्ने आशङ्का गरिएको छ। सो घटनाको पनि छानबीन भइरहेको बुझिएको छ।

घूस लिएर फर्जी नियुक्ति भएका शिक्षकहरूमा आनन्दप्रसाद साह, अविनाश कण्ठ, तेजनाथप्रसाद जयसवाल, ममता पटेल, मुन्नीकुमारी श्रीवास्तव, नवनीता मल्लिक, प्रियङ्काकुमारी यादव, वन्दनाकुमारी कर्ण र पूजाकुमारी साह छन्।

प्रअ ठाकुरले जिप्रका, पर्सामा उपस्थित भएर बयान दिएको र बयानपछि अनुसन्धान अगाडि बढाइने जिप्रका, पर्साले जनाएको छ। संभार प्रतिक दैनिक

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *