Categories अर्थ समाचार

गरिब नेपालका धनी नेपाली, ११ महिनामै ४१ करोडको चुइगम चपाए

Advertisement


काठमाडौं । न त छाक टर्ने, न त पेट भरिने। नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ। 

स्वास्थ्यलाई फाइदा गर्ने भए त ठीकै पनि हो। कुनै पनि हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर ठूलो मेहनत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ। अनावश्यक र फजुल खर्चमा नेपाली कति अगाडि छन् भन्ने कुराको खास उदाहरण हो चुइगम आयातको तथ्याङ्क। न औषधि नै हुने,  न त अत्यावश्यक वस्तु। न त मुलुकमा नै उत्पादन हुन्छ। एकातिर विदेशी मुद्रा सञ्चिति घट्दो छ भने अर्कातर्फ यस्ता अनावश्यक वस्तुको आयात बढ्दो छ।

Advertisement

मुलुकको आर्थिक अवस्थाका बारेमा प्रायः सबैमा चेतना नभएको पनि होइन। तर पनि यस्ता अनावश्यक र विलाशिताका वस्तुको आयातमा अर्बौं रकम बाहिरिरहेको तथ्याङ्क समयसमयमा सार्वजनिक हुने गरेको छ।

Advertisement

खेतबारीमा सहजै उत्पादन गर्न सकिने वस्तुदेखि अनावश्यक ठानिएका वस्तुको आयात गरेर ठूलोमात्रामा विदेशी मुद्रा खर्च गरेर नेपालीले आफैंलाई थप परनिर्भर बनाइरहेका छन्। यस्तै तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको छ। विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको आयात निर्यातसम्बन्धी विवरणानुसार जेठ मसान्तसम्म मुलुकमा १३ लाख दुई हजार १९५ किलो चुइगम आयात भएको छ। एकाध मिनेटका लागि नेपाली समाजमा प्रचलित भनाइजस्तै ‘मुखको तीतो मेट्न’का लागि चपाइनै त्यस्ता वस्तुको आयातका लागि मात्रै झण्डै रु ४१ करोड बराबरको लगानी गरिएको छ।

विभागका अनुसार सो परिमाणको चुइगम आयात गर्न मुलुकबाट रु ४० करोड ८४ लाख ६७ हजार रकम बाहिरिएको छ। नेपालमा विशेष गरी, चीन, भारत र युरोपेली देशबाट चुइगम आयात हुने गरेको छ। त्यस्तै यस अवधिमा चकलेट र यससँग सम्बन्धित वस्तु आयातमा रु दुई अर्ब ८३ करोड ८८ लाख ८१ हजार बराबरको रकम बाहिरिएको छ।

एघार महिनाका अवधिमा ८० लाख ६१ हजार ६३६ किलो चकलेट र चकलेट बनाउन प्रयोग हुने कच्चा सामग्री आयात भएको छ। त्यस्तै कुरकुरे, कुरमुरे, लेज, चिजबल्सजस्ता खानेकुराको आयातसमेत करोडौँमा हुने गरेको छ। ती खाद्य पदार्थको सेवन नगर्दा पनि नेपाली पछाडि पर्दैनन्। तर जसरी भए पनि खानैपर्ने भन्ने सोचका कारण विदेशी मुद्राको सञ्चिति घटाउन प्रयोग भइरहेको छ।

चालु आवको पहिलो ११ महिनामा १४ लाख २४ हजार ३६९ किलो बराबरको त्यस्ता खानेकुरा आयात भएको छ। त्यसका लागि मात्रै मुलुकबाट रु ६६ करोड ६५ लाख २५ हजार बराबरको रकम बाहिरिएको छ। यस अवधिमा बिस्कुटजस्ता खानेकुराको आयातमासमेत अर्बौं रकम विदेशिने गरेको देखिन्छ। चालु आवको जेठ मसान्तसम्म रु एक अर्ब ३७ लाखभन्दा बढीका बिस्कुट आयात भएको छ।

त्यस्तै पापड रु १९ करोड ९४ लाख, मकैको खानेकुरा (कर्नफ्लेक्स) रु १८ करोड ४९ लाखमा आयात भएको विवरण छ। अनावश्यक ठानिएका त्यस्ता सामग्रीको आयातमा कडाइ गर्नुपर्ने माग पनि नउठेको होइन। तर सरकारी निकायले त्यसतर्फ ध्यान दिन सकेको छैन। अर्थमन्त्री जनार्दन शर्माले देशभित्रै उत्पादन हुने बिस्कुटको प्रयोग सरकारी निकायमा अनिवार्यरुपमा गर्न यसअघि नै प्रक्रिया अगाडि बढाइसकिएको बताए।

विदेशी मुद्राको सञ्चिति ओरालो लागेको बेला अनावश्यक ठानिएका यस्ता वस्तुको तत्काल आयात प्रतिबन्ध लगाउनुपर्ने माग पनि उठेको छ। यी सामग्री अत्यावश्यक पनि नभएकाले सरकारले सामान्यरुपमा कडाइ गर्नेवित्तिकै नियन्त्रण भइहाल्ने सरोकारवालाको भनाइ छ। –रासस

सांकेतिक तस्बिर
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *