वीरगञ्ज । विद्यार्थीसँग मनोमानी शुल्क असुलेको भन्दै निजी विद्यालयको बिरोधमा वीरगञ्जका अभिभावकहरु सडकमा उत्रिएका छन् ।
अभिभावकहरुले संघर्ष समिति नै बनाएर शनिबारबाट सडक संघर्षमा उत्रिएका हुन् । संघर्ष समितिका संयोजक सन्दिप कुमार साहको नेतृत्वमा वीरगञ्जको घण्टाघरबाट निस्केको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पछि पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।
निजी विद्यालयले आफ्नो फाइदाका लागि वर्षैपिच्छे किताब परिवर्तन गर्ने, किताब किन्न पनि तोकिएको पसलबाट मात्रै लिनु पर्ने लगायतको व्यवस्थाले अभिभावकलाई आर्थिक भार थोपर्ने काम गरेको अभिभावकको आरोप छ ।
अहिले निजी विद्यालयले खेलकुद, बसभाडा, धरौटी लगायत विभिन्न शीर्षकमा अभिभावकसँग रकम असुल्ने गरेको छ ।

यतिमात्रै नभई बार अनुसारको विद्यालय पोशाकको व्यवस्था गरेर पोशासकबाटै कमिशन लिने गरेको संघर्ष समितिका संयोजक साह बताउँछन् ।
अहिले निजी विद्यालयहरुले मासिक शुल्क नै ५० प्रतिशत भन्दा बढी मनोमानी रुपमा बृद्धि गरेर असुलीका लागि घरघरमा बिल पठाइरहेको अभिभावकहरु बताउँछन् ।
गुणस्तरीय शिक्षा भन्दै विभिन्न शीर्षकमा रकम असुल्न यहाँ नाम चलेकै निजी विद्यालयहरु अग्रस्थानमा रहेको अभिभावक मुन्ना समानी बताउँछन्
प्रदर्शनमा उनीहरुले स्कुल ड्रेसमा भइरहेको कमिसनखोरी बन्द गर, प्रत्येक वर्ष किताब परिवर्तन गर्न पाइँदैन, मनोमानी फि लिन पाइँदैन लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
यस अघि उनीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई भेटेर ज्ञापन पत्र बुझाउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए ।
अभिभावकहरुले निजी विद्यालयको शुल्क महानगरपालिकाकाले नै तोक्ने व्यवस्था मिलाउन माग गरेका छन् । महानगरले नै शुल्क तोकिदिए निजी विद्यालयको मनोमानी अन्त्य हुने अभिभावकको विश्वास छ ।







