कास्की । नक्कली सुन देखाई सक्कली हो भन्दै ठगी गर्न खोजेको अभियोगमा २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका-८ न्यूरोडस्थित एक होटलमा २ वटा नक्कली सुनको बाला देखाई सक्कली हो भन्दै ठगी गर्न खोजेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-४ रामकृष्ण टोल बस्ने चितवन माडी नगरपालिका-८ बसन्तपुर घर भएका ३५ वर्षीय धर्मेन्द्र खाती (शाय) र पोखरा महानगरपालिका-१६ घर्मीखोला बस्ने स्याङ्जा अर्जुन चौपारी गाउँपालिका-४ रापाकोट घर भएका ४० वर्षीय डिल बहादुर बिक रहेका छन् ।
उनीहरूले शुक्रबार दिउँसो उक्त होटलमा ठगी गर्न खोजेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर आपराधिक षडयन्त्र सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइहेको जनाइएको छ ।







