Categories समाचार

वीरगञ्जमा प्राकृतिक चिडियाखाना स्थापना गर्न सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

Advertisement

वीरगञ्ज । सङ्घीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले घोषणा गरे अनुरुप वीरगञ्जमा प्राकृतिक चिडियाखाना स्थापना गर्ने निर्णय भएको छ ।

जिम्मेवारी सम्हालेसँगै मन्त्री यादवले वीरगञ्जमा चिडियाखाना स्थापना गर्ने प्रतिबद्धता अनुसार चिडियाखानाको सम्भाव्यता अध्ययन गर्न मङ्गलबार एउटा ८ सदसिय कार्यगल गठन गर्नुभएको हो । मङ्गलबार मन्त्री यादवकै सभापतित्वमा बैठक बसेको थियो ।

Advertisement

कार्यदलले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३१ सोलखपुर र वडा नम्बर ३२ रामवनमा चिडियाखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेर १० दिन भित्र मन्त्रालयमा प्रतिवेदन प्रस्तुत गर्ने छ । प्रतिवेदन पेश गरे लगत्तै यसै महिनाभित्र चिडियाखाना स्थापनाका लागि काम शुरु गर्न मन्त्री यादवले निर्देशन पनि दिनुभएको छ ।

Advertisement

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा कार्यदल गठन गरिएको मन्त्री यादवका उप–स्वकीय सचिव निखिल बरनवालले जानकारी दिनुभयो ।

चिडियाखानाको स्थापनाले वीरगञ्ज क्षेत्रमा पर्यटकीय गतिविधि बढ्नुका साथै वन जङ्गल संरक्षणमा पनि टेवा पुग्ने मन्त्री यादवको विश्वास छ । ‘वीरगञ्जको बाटो हुँदै वर्षेनी लाखौँ पर्यटक नेपाल भित्रिने गर्छन्, तर वीरगञ्जमा नबसेर अन्य ठाउँहरु घुम्न जान्छन्,’ मन्त्री यादवले भने, ‘किनभने पर्यटकलाई वीरगञ्जमा रोक्न सक्ने कुनै त्यस्तो लोभलाग्दो गन्तव्य छैन । त्यसैले पनि वीरगञ्जमा पर्यटक रोक्न र यहाँको आर्थिक गतिविधिलाई बढाउन चिडियाखाना स्थापना गर्न लागेका छौं । यसले पर्यटकीय र आर्थिक गतिविधि पनि बढ्ने विश्वास लिएको छु ।’

बैठकमा सहभागी मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जमा चिडियाखाना स्थापना गर्नका लागि प्रदेश सरकारले पनि हरेक सहयोग गर्न तयार रहेको बताउनुभयो । प्रदेश सरकारले चिडियाखाना स्थापनाका लागि जग्गा उपलब्ध गराउनेदेखि बजेट व्यवस्थापनमा समेत सहयोग गर्न मुख्यमन्त्री राउतले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि चिडियाखाना स्थापनाले पर्यटकीय गतिविधि बढ्नुका साथै वन जङ्गलमा भइरहेको अतिक्रमण रोक्न सघाउ पुग्ने बताउनुभयो । चिडियाखाना स्थापनाका लागि जग्गा उपलब्ध गराउन र मन्त्रालयसँग समन्वय गर्न महानगरको कार्यपालिका बैठकले निर्णयसमेत गरिसकेको मेयर सिंहले जानकारी दीनुभायो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेल, सहसचिव धनञ्जय पौडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल, वन तथा भू संरक्षण विभागका महानिर्देशक राजेन्द्र केसीलगायत मन्त्रालयका विभिन्न शाखाका प्रमुख एवम् प्रतिनिधीहरुको उपस्थितीमा भएको छलफलले कार्यदल गठन गरिएको हो ।

कार्कीको संयोजकत्वमा गठीत कार्यदलमा मधेश प्रदेशका वन निर्देशक, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, डिभिजन वन कार्यालय पर्साका वन अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, वन तथा भू संरक्षण विभागका सहायक वन अधिकृत सवनम पाठक र राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ प्रतिनिधि सदस्य रहनेछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत पेम्बा शेर्पा सदस्य सचिव हुने आजको छलफलले निर्णय गरेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *