हेटौंडा । चिट लुकाएको आरोपमा छात्रा परीक्षार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका २ कर्मचारीलाई हेटौंडा क्याम्पसले निलम्बन गरेको छ । उनीहरुमाथि स्नातक तह दोश्रो वर्षको परीक्षा दिन आएका २ जना छात्रालाई चिट लुकाएको आरोपमा कपडा खोल्न लगाएर दुव्र्यवहार गरेको आरोप छ ।
यस्तै घटनाबारे छानबिन गर्न समिति समेत गठन गरिएको छ । क्याम्पस प्रमुख डा. देवचन्द्र भट्टको संयोजकत्वमा गठित समितिले ३ दिनभित्र प्रतिवेदन दिने छ । छात्रामाथि दुर्व्यवहार भएको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोडसमेत गरेका छन् ।
आन्दोलन र तोडफोड किन भयो क्याम्पसमा ? क्याम्पसमा स्नातक तह दोस्रो वर्षको परीक्षा दिन पुगेकी २ छात्रालाई भित्री वस्त्र मात्र होइन, महिनावारी हुँदा लगाइएको प्याडसमेत खोल्न लगाइएको थियो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षामा मकवानपुर बहुमुखी क्याम्पसको परिक्षा केन्द्र हेटौँडा क्याम्पसमा पर्ने गर्दछ । दुर्व्यवहारमा परेका २ छात्राहरु पनि मकवानपुर बहुमुखी क्याम्पसकै रहेको खुलेको छ।
त्यही घटनाले बुधबार हेटौँडा क्याम्पसमा हुलदंगा भएको छ । अकस्मात २ सय जनाको हाराहारीमा मकवानपुर बहुमुखी क्याम्पसबाट आएका विद्यार्थीले हेटौँडा क्याम्पसमा नाराबाजी सुरु गरेका हुन् । भीड आक्रोशित बनेपछि हेटौँडा क्याम्पसका सिसाहरुमा हानेर क्षति पुर्याइएको छ । क्याम्पसमा खटिएका सुरक्षाकर्मी र विद्यार्थीबीच धकेलाधकेल भयो ।
प्रहरीले भीडलाई उत्तेजित पार्ने ४ जना विद्यार्थीलाई नियन्त्रणमा लिई हेटौँडा क्याम्पसकै एउटा कोठामा राखेको थियो । यसरी हेटौँडा क्याम्पसमा अत्यन्तै क्रुर ढंगले शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेपछि उक्त घटनाबारे सामाजिक सञ्जालहरुमा ब्यापक आलोचना भएको थियो ।
आलोचनापछि घटनासँग सम्बन्धित २ छात्राका अभिभावक, क्याम्पस सञ्चालक समिति अध्यक्ष मुनु सिग्देल, क्याम्पस प्रमुख देवचन्द्र मानन्धर र सबै विद्यार्थी संगठनका नेताहरु बसेर घटनाबारे छलफल गरेका थिए ।







