अन्जु कुमारी
वीरगन्ज । साउनको दोश्रो हफ्ता लागिसक्दा पनि लामो समय देखि पानी नपरेर खडेरी पर्दा अहिले सम्म आधा पनि धान रोपाइ हुन सकेको छैन । लामो समय देखि पानी पनि नपरेको र चर्को घामले ब्याडमा तयार भइसकेका बीउका बेर्ना सुक्न थालेको तथा खाध्य समेत नपाउदा किसानहरु दोहोरो मारमा परेको गुनासो गर्दैछन् । वैकल्पिक रुपमा सिंचाइ गरेर रोपिएका धानको बोट पनि पहेलिएर डढ्न थालेको किसानहरु बताउँछन् ।
यसपाली समयमा पानी नपर्दा किसानले धान रोप्न नपाएका बेला जसोतसो हाल धान रोपेपनि पर्याप्त पानी र खाधको अभावमा खडेरी पर्दा ब्याडमा तयार भइसकेका बीउका बेर्ना सुक्न थालेपछि फेरी गोडमेल गरी सिँचाईका लागि ऋण गरेर भएपनि पानीको व्यवस्था गरी रोपाई गरेको भएपनि फेरी पनि हाल पानी पर्याप्त रुपमा नपरी घाम लाग्न थालेपछि चिन्ता बढेको किसानहरुले बताएका छन् ।
पर्सा गर्दाैलकी सरनेशा खातुन भन्छिन् , ’ तीन महिना भईसक्यो धान विउको तैयारी गरेको तर साउन लाग्दा समेत पानी पर्याप्त परेको छैन । धेरै ढिलो भईसक्यो । वर्षाको पानीको लागि कुर्दा कुर्दै पैशा खर्च गरेर बोरिगंले पानी हाल्नुपयार्् खेतमा । अहिले फेरी घाम लागरहेको छ यसले थप चिन्ता बढाएको छ ।’
अन्नभण्डारको रूपमा चिनिने मधेस प्रदेशको तराई क्षेत्रमा अहिले झरी पर्नुपर्ने समय हो। तर टन्टलापुर घाम लाग्दा धान रोपाइँ प्रभावित बनेको छ।
स्थानीय किसान सरोज बानुले दुखेसो पोख्दै भनिन् , ’वर्षतको पानीको कारण ढिलो भयो । मेरो खेतमा पनि सुख्खाले धेरै धानको विउ सुख्यो । पछि पैसा खर्च गरेर केहीमा पानी हाले केही त्यस्तै विउ पहेलो भएर कामै नलाग्ने भयो धान विउ । अब त पैसा पनि छैन पानी पटाउनका लागि त्यसैले अब वर्षाकै पानीको लागि कुर्ने हो पानी नपरे यसपालि पर्याप्त सोचेको जस्तो धान हुँदैन । अब जे हुन्छ सहनै पर्छ हामी किसानले । सरकारले केही व्यवस्था गरे हुन्थ्यो नि यस्तोमा मतलब छैन । ’
रोपाइँ सक्ने बेलामा समेत यस वर्ष पर्याप्त वर्षा हुन सकेको छैन। राम्रोसँग वर्षात नभएपछि अधिकाशं किसानले धान रोप्न पाएका छैनन् भने केही किसानले सिचाईको व्यवस्था गरी विउ रोपेपनि अबको घाम तथा सुख्खाले सबै बर्बाद नै हुने होकी भन्ने चिन्ताले सताएको बताउँछन् ।
असारको अन्तिममा सामान्य झरी परे पनि त्यसपछि रोपाइँ गर्न हुने गरी पानी नपरेको किसानको गुनासो छ। खेतमा जम्ने गरी पानी नपर्दा रोपाइँ प्रभावित भएको किसानको भनाई छ।
मधेस प्रदेशको आठ जिल्लामा नै पर्याप्त वर्षा हुन नसक्दा खडेरीको सम्भावना बढेपछि किसानहरु चिन्तित बनेका छन्। समयमा वर्षा नहुँदा तथा सिँचाइको अभावमा अधिकांश जिल्लामा धान रोपाइँमा असर परेको छ भने रोपिएका धान पानीको अभाव र खाध्यको अभावमा सुक्न थालेको छ।







