पाेखरा । पाेखरामा २ दिनदेखि चलेकाे महानगर मेयर सम्मेलन शनिबार साँझ सम्पन्न भएकाे छ ।
‘समुन्नत महानगरका निम्ति समन्वयीक विकास र साझेदारी’ नाराका साथ सुरु भएकाे सम्मेलनमा विभिन्न विषयमा छलफल भएकाे छ ।
महानगरले गर्ने कार्यसम्पादन, स्रोत साधनको उपयोग तथा परिचालनका विषयमा रहेको विद्यमान कानुन र गर्नुपर्ने सुधार, महानगरस्तरबाट प्रवाह हुने सेवा, काम कारबाही तथा विकास निर्माणका कार्यहरूलाई थप सबल, सशक्त र गुणस्तरयुक्त कसरी बनाउन सकिन्छ भन्ने विषयमा अनुभव तथा धारणाहरूमा समेत छलफल भएकाे छ ।
यस्तै महानगरहरू बीच आन्तरिक पर्यटक आदानप्रदान, स्थानीय उत्पादन र बजारीकरण, स्थानीय स्रोत साधनको व्यवस्थित परिचालन, महानगरका योजना, चुनौती र व्यवस्थापनबारेमा पनि छलफल भएकाे बताइएकाे छ ।

जनहित र सामाजिक कार्यका साथै विकासका मोडलमा एकरूपता कायम गर्ने, सूचना प्रविधि र सञ्चारको आदानप्रदान गर्ने लगायतका विषय पनि सम्मेलनमा उठेका थिए । यस्तै सम्मेलनले महानगरकाे छुट्टै कानुनकाे आवश्यकता महसुस गरेकाे छ । त्यसका लागि संसदबाट महानगर संचालन ऐन ल्याउन पहल गर्ने निर्णय गरिएकाे छ ।
सम्मेलनमा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष एवं क्षेत्रीय योजनाकार डा.जगदीश चन्द्र पोखरेल, पूर्वाधार विज्ञ डा.सूर्यराज आचार्यले आ-आफ्ना अवधारणा प्रस्तुत गरेका थिए ।
पहिलो पटक पोखरामा आयोजना गरिएको सम्मेलनमा देशभरका ६ वटै महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुकाे सहभागिता थियाे ।
सम्मेलनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला सहभागी थिए । यस्तै सबै महानगरपालिकाका उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूको पनि सहभागिता रहेकाे थियाे ।







