Categories समाचार

पहिरोले घर बगाउँदा एकै परिवारका पाँचजनाको मृत्यु ।

Advertisement

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका– २ रुमको तामेङमा पहिरोले घर बगाउँदा एकै परिवारका पाँचजनाको ज्यान गएको छ। आज बिहान गएको पहिरोमा घरसँगै पुरिएका घामबहादुर विकको परिवारका पाँचैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पहिरोमा पुरिएर बेपत्ता भएका तीनजनाको शव भेटिएसँगै मृतकको संख्या पाँच पुगेको कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। पहिरोमा पुरिएकाहरूको स्थानीयवासी, प्रहरी र जनप्रतिनिधिसमेतको टोलीले खोजी गर्दा शव फेला परेको हो। 

Advertisement

पहिरोमा पुरिएर ३८ वर्षीय घामबहादुर विक, उनकी पत्नी ३४ वर्षीया राममाया, छोरा १५ वर्षीय नवीन, तीन वर्षीय छोरा राजन र सात वर्षीया छोरी अस्मीको ज्यान गएको प्रहरीले जनाएको छ। 

Advertisement

पहिरोले स्थानीय गोठे विकको घरसमेत बगाएको छ। गोठे र उनकी श्रीमती गोरी विक घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने तयारी गरिएको छ।

अविरल वर्षाका कारण बस्तीमाथिबाट खसेको पहिरो अझै रोकिएको छैन। थप घरहरूमा समेत पहिरोको जोखिम रहेको स्थानीयले बताएका छन्।

सांकेतिक तस्बिर
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *