Categories समाचार

सडक सुरक्षाका लागि ट्राफिक स्वयंसेवक प्रशिक्षण तथा परिचालन कार्यक्रम उद्घाटन

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सडक सुरक्षाका लागि ट्राफिक स्वयंसेवक प्रशिक्षण तथा परिचालन कार्यक्रमको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित एक समारोहबीच उद्‌घाटन गर्नुभएको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजना र काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस, कान्तिपुर डेण्टल कलेज तथा अस्पतालसँगको सहकार्यमा आगामी १५ दिनसम्म संचालन गरिने उक्त कार्यक्रमको काठमाडौं महानगरपालिका प्रमुख शाहले पद्मकन्या कलेज सामाजिक कार्य विभागका प्रमुख स्वीकृता राईलाई ट्राफिक स्वयंसेवक ज्याकेट तथा काठमाडौं महानगरपालिकाबाट प्राप्त स्टिकर लगायतका सामग्री हस्तान्तरण गरी उक्त कार्यक्रम शुभारम्भ गर्नुभएको हो । 

Advertisement

सो अवसरमा काठमाडौं महानगरपालिका प्रमुख शाहले सवारी साधनको हर्नले अशान्ति फैलाउनुको साथै मानसिक स्वास्थ्यमा असर गर्ने तथा ट्राफिक प्रहरीको कार्यमा समेत अवरोध पुर्‍याउने बताउनुभयो । साथै उहाँले सवारीसाधन चालकले धैर्य गरी विस्तारै चलाउँदा सुरक्षित तवरले गन्तव्यमा पुग्न सकिन्छ भन्ने चेतना फैलाउन कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्दै पहिलेदेखि नै लागू भएको ‘नो हर्न’को अभ्यासलाई थप प्रभावकारी बनाउन ‘नो हर्न’ को स्टिकर र यस सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको उल्लेख गर्नुभयो ।  

Advertisement

पद्मकन्या बहुमुखी क्याम्पस बागबजारका प्राध्यापक राजु मल्लले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

कार्यक्रम अन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पस बागबजारमा सोसल वर्क संकायको पहिलो र दोस्रो सेमेस्टरमा अध्ययनरत छात्राहरूलाई ट्राफिक स्वयंसेवकको रूपमा थापाथली, पुतलीसडक, कालिमाटी, बानेश्वर लगायत १७ ठाउँमा कार्यक्रम अवधिभर परिचालन गरिने उक्त अवसरमा जानकारी दिइयो ।

उद्‍घाटन कार्यक्रम पश्चात काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरी लगायत उपस्थित ट्राफिक स्वयंसेवकहरूले सिंहदरबार चोकमा गुडिरहेका सवारी साधनहरूमा ‘नो हर्न’ लेखिएको स्टिकरहरू टाँस समेत गर्नुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *