पर्सा । वीरगन्ज भन्सार कार्यालयका एक जना कर्मचारी प्रहरीबाटै कुटिएका छन् ।सोमबार राति साढे ११ बजे भन्सार कार्यालय अगाडि नै ड्यूटीमा रहेका बेला सिभिल प्रहरी हौं भन्दै आएका व्यक्तिले कार्यालय सहयोगी बमबहादुर विशंखेलाई दुर्व्यवहार र कुटपिट गरेका हुन् ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार हरेक दिन राति १० बजेपछि वीरगन्ज भन्सारको बेरियर (ढाँट ) बन्द गरिने गर्छ ।तर सोमबार राति निर्धारित समयभन्दा डेढ घन्टा पछाडि चार÷पाँच जना आएर वेरियर खोल्न लगाउँदै कार्यालय सहयोगी विशंखेलाई दुव्र्यवहार गर्दै कुटपिट गरेका हुन् ।
‘मादक पदार्थ सेवन गरेर नेपाली गाडीमा आएका उनीहरुले नेपाल प्रहरीको स्टाफ हुँ भन्दै गाली गरेका थिए’ विशंखे भन्छन्, ‘मैले कार्ड देखाउन भन्दा पनि टेरेनन्, गाडी पनि प्रहरीको थिएन ।’
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलका अनुसार उनीहरुले कार्यालय सहयोगी विशुंखेले सोधपुछ गर्न खोज्दा उल्टै लछारपछार र दुव्यर्वहार गरेको पाइएको छ ।‘उहाँले आफ्नो शरीरमा चोट पटक लगेर हात, पिठ्यूँ, गालामा पनि निलो डाम बसेको भन्दै निवेदन दिनु भएको छ’ पोखरेलले भने ।
विशंखेले कार्यालयमा निवेदन दिँदै कार्यालयमा रहेका सीसी टीभी फुटेजलाई पनि हेरेर घटनामा संलग्नलाई कानून अनुसार कारबाही गर्न माग गरेका छन् ।‘निवेदनका आधारमा कर्तव्यपालनको सिलसिलामा ड्यूटीमा रहेका कर्मचारीलाई हातपात गर्नेलाई आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा लेखी पठाउने निर्णय गरेका छौं’ पोखरेलले भने ।
भन्सारका कर्मचारीहरुका अनुसार सीसी टीभीभन्दा बाहिरको रेञ्जमा लगेर पनि विशंखेमाथि कुटपिट भएको थियो । ‘पछि सशस्त्र प्रहरीले सहयोग नगरेको थियो भने विशंखे झन् गम्भिर घाइते हुने अवस्था थियो’ एक अधिकारी भन्छन् ।त्यहाँ खटिएका सुरक्षाकर्मीहरुका अनुसार त्यसरी कर्मचारीलाई दुव्र्यवहार गर्ने प्रहरीको टोली घुसुवा प्रहरीका असई सागर राणा नेतृत्वको टोली हो ।
तर पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले भने सामान्य विवाद भएको हुनसक्ने बताए । उनले भने, ‘ भन्सारबाट पत्र पठाउँछु भनेका छन्, आएपछि हेर्छौैं ।’







