काठमाडौँ । नेपाली सेनाको साइवर स्पेस(सर्भर)मा प्रवेश गरेको आरोपमा २१ वर्षिय युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई हाल कास्कीको पोखरा–१६ बाटुलेचौर बस्ने सागर ढकाल रहेका छन् । उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी भएको खुलेको छ ।
नेपाली सेनाको सर्भरमा अनाधिकृत पहुँच पुर्याएको आरोपमा ढकाललाई पक्राउ गरिएको प्रहरीको भनाई छ । उनले घर धनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्याएकोले पक्राउ गरिएको साइबर ब्यूरोका प्रहरी अधिकृतले जनाएका छन् ।
नेपाली सेनाले आफ्नो साइबर स्पेशमा कसैले अनधिकृत पहुँच पुर्याएको भन्दै दिएको सूचनाका आधारमा अनुसन्धान गर्दा ढकाललाई घरबाटै पक्राउ गरेर ल्याएको प्रहरीको भनाई छ ।
साइबर स्पेसमा अनधिकृत पहुँच पुर्याउने उद्देश्यले विभिन्न समयमा साइवर हमला भएको पाइएपछि सेनाले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो । सोहीअनुसार साइवर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा ढकालको संलग्नता खुलेको हो ।
ब्युरोका सूचना अधिकारी पशुपति कुमार रायले उनीमाथि विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।






