अमित अग्रवाल
वीरगन्ज । व्यावसायिक मन्दी र घरबेटीको किचलोका कारण पछिल्लो समय पर्साको सहरी क्षेत्रमा व्यापारिक प्रयोजनमा प्रयोग हुँदै आएको सटर तथा गोदामहरू धमाधम खाली हुन थालेका छन् ।
मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण व्यापार नहुँदा तनाव खेपिरहेका व्यापारीहरु घरबेटीको मांग पुरा गर्न नसक्दा छोडेर अन्यन्त्र जान थालेपछि वीरगन्जका सटरहरू खाली हुन थालेका हुन् ।

व्यावसायिक सटर भाडाका लागि तछाडमछाड गर्ने मुख्य बजारका सटरहरू अहिले खाली भएको व्यानर जताततै देख्न सकिन्छ । व्यस्त तथा मुख्य बजारका सटरहरु भाडाका लागि मरिहत्ते गर्ने व्यवसायीहरु अहिले भने खाली गरेर पलायन भइरहेका छन् । आर्थिक संकट, व्यवसाय न्यून र घरधनीको ज्यादतीले व्यवसायिक सटरहरु खाली हुँदै गइरहेका छन् ।
मुख्य सहरी क्षेत्रसँगै भित्र गल्लीमा सञ्चालन भएका सटर तथा पसल बन्द हुन थालेका हुन् । आर्थिक गतिविधि नियमित नभई व्यापार व्यवसाय चल्न छाडेपछि पसल बन्द हुन थालेका हुन् ।

राष्ट्रिय व्यवसायी महासङ्घका अनुसार मुलुकभर ३० देखि ३५ प्रतिशत सटर बन्द भएका छन् । पछिल्लो समय आर्थिक गतिविधि सुस्त गतिमा चलायमान हुँदा तथा घरभाडा नियमित बढ्ने, एडभान्स दिनुपर्ने, तोकेको समयमा घरभाडा नतिर्दा अपहेलित हुनुपर्ने जस्ता समस्या उत्पन्न हुदा व्यापार व्यवसायबाट पलायन हुनेको सङ्ख्या बढ्दै गएको बुझिएको छ ।
मान्छेको आर्थिक आय आर्जनको स्रोतमा संकुचन आएपछि छोडेर गइरहेको व्यवसायीहरु बताउँछन् । भारतिय सिमा क्षेत्रको बजारले पनि वीरगन्जमा व्यवसायीलाई असर गरेको छ । घर भाडा अनियन्त्रित रुपमा बढेपछि कतिपय मानिसले खाली गरेर जानु पर्ने बाध्यता छ भने मान्छेसँग आर्थिक आयआर्जनको स्रोतमा कमि, अनियन्त्रित वृद्धि र महंगीले पनि व्यवसायी फलायन हुन थालेको व्यवसायीहरु बताउँछन् ।







