काठमाडौं । सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका हुन् ।
नेपाल प्रहरीले कोइरी फरार अभियुक्त भएको भन्दै पुनः दोस्रोपटक पत्राचार गरेपछि मंगलबार सभामुख घिमिरेले सांसद पदबाट निलम्बन गरेका छन् । कोइरी गएको ४ मंसिरको प्रतिनिधि सभाको निर्वाचनमा एमालेबाट महोत्तरी–१ बाट सांसद बनेका थिए ।
मधेश आन्दोलनका बेला २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतले थुनामा राख्न आदेश दिए पनि कोइरी त्यसयता फरार छन ।






