वीरगञ्ज । नक्कली र सक्कली नोट सहित पर्सा प्रहरीले दुईजना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ ।
पर्सा प्रहरीले वीरगञ्ज बाईपासको चालिस फिटा सडक खण्डबाट स्कार्पियोमा रहेको नेपाली नक्कली नोट ४ लाख ९६ हजार र सक्कली नोट २ लाख सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साले बिशेष सुचनाको आधारमा बीरगञ्ज महानगरपालिका वडा नं. १६ चालिसफिटे स्थित सडकखण्डमा संयुक्त बिशेष प्रहरी टोलिले बिआर ०१ पिजी ६५७७ नम्बरको सेतो रङ्गको स्कार्पियो गाडीलाई चेक जाँच गर्दा सवार दुईजना पक्राउ परेका हुन ।
सेतो प्लास्टिकको झोला भित्र नेपाली नक्कली नोट रू.१००० दरको ४५० थान र रु.५०० दरको नोट- ७२ थान गरी जम्मा नेपाली नक्कली नोट रु. ४ लाख ८६ हजार र सक्कली रु.१००० दरका नोट- २०० थान गरी जम्मा नेपाली नोट रु. २ लाख रुपैया सहित चालक सहित २ जनालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा गाडी चालक सर्लाही गोडौताका ३४ वर्षका आनन्द बर्दन सिंह र गाडीमा सवार बारा परवानीपुर बस्ने ३६ वर्षका ओम प्रकाश साहलाई स्कार्पियो गाडी र नक्कली नोट सहित नियन्त्रणमा लिई उनीहरुको बिरुद्ध मुद्रा सम्बन्धी कसुरमा (नक्कली मुद्रा प्रयोगमा ल्याउन नहुने) मुद्दा चलाइएको पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए ।






