अमित अग्रवाल
वीरगञ्ज । बिल बिजक भन्दा बढी हार्डवेयर, मोबिल तथा बिभिन्न किसिमका खुद्रा सामानहरु लोड रहेको कन्टेनर र ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट नारायणघाट तर्फ जाँदै गरेको ना.३ ख ७७४१ नम्बरको मालवाहक ट्रक र वीरगञ्जबाट लाहान तर्फ जाँदै गरेको ना.३ ख ६९९ नम्बरको मालवाहक कन्टेनर ट्रक पक्राउ गरिएको छ ।
सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटेको प्रहरी टोलीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बोखार चोक र वडा नम्बर ४ रेल्वेरोड बाट उक्त मालवाहक ट्रकलाई पक्राउ गरेको विर्ताका प्रमुख प्रहरी निरीक्षक बिदुर सिवाकोटीले जानकारी गराए ।
पक्राउ परेको ट्रक, कन्टेनर र सो भित्र लोड रहेको हार्डवेयर, मोबिल तथा बिभिन्न किसिमका खुद्रा सामानहरु लगभग १ करोड २१ लाख मुल्य बराबरको रहेको अनुमान गरिएको छ ।
पक्राउ परेको ती ट्रक र कन्टेनरलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी गराए ।


