वीरगन्ज । वीरगन्जमा साताव्यापी रुपमा आयाेजित सडक सुरक्षा सप्ताहकाे अन्तिम दिन आईतवार सडक दुर्घटनामा परेर ज्यान गुमाएका सम्पुर्ण मृतकहरुको आत्माको चीरशान्तिकाे लागि मैनबत्ती बालेर माैनधारण गरिएकाे छ।
आईतवार साँझ वीरगन्जकाे घण्टाघर चोकमा मैनबत्ती बाली एक मिनट मौन धारण गरि सडक सुरक्षा सप्ताह कार्यक्रमकाे समापन पनि गरिएको छ।
समापन कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले सडक सुरक्षा सप्ताह जस्ता कार्यक्रम वर्षमा एक पटक मात्र नभई निरन्तर हुनुपर्नेमा जाेड दिए । उनले स्थानीय युवा अभियन्ता ,समाजिक क्लब र संघ संस्थाहरुसंग हातोमालो गरि शहरकाे ट्राफिक व्यवस्थापन गर्न सफल हुने पनि बताए।
युवा अभियन्ता दिलिपराज कार्कीले अन्य कारणले ज्यान गुमाउनु भन्दा ट्राफिक नियम नमानेर लापरवाही गरेर ज्यान गुमाउन परेका घटना बढी भइरहेकाले विशेषगरि युवाहरुले ट्राफिक नियमलाई अत्मसाथ गरे मात्र सडक दुर्घटनामा कमि आउन सक्ने बताए।
कार्यक्रममा परिवर्तन नेपाल,पहल संस्था,भोलेन्टीयर समूह,रोटरी क्लब वीररगन्ज, नेपाल रेडक्रस साेसाइटी लगायतका संघसंस्थाका प्रतिनिधिहरुकाे सहभागीता रहेको थियो।






