अमित अग्रवाल
वीरगन्ज । सिप्रदी ट्रेडिङले टाटा मोटर्सको बिधुतीय कार नेक्सन इभी म्याक्स वीरगन्जमा सार्वजनिक गरेको छ । टाटा मोटर्सको आधिकारी बिक्रेताको रुपमा रहेको सिप्रदि ट्रेडिङले मंगलबार कार सार्वजनिक गरेको हो ।
पावरहाउस चौक स्थित रहेको शोरुममा कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कारबाट कभर हटाइ सार्वजनिक गरेका हुन ।
यस्ता विद्युतीय सवारीले वायु प्रदुषण नियन्त्रणमा सहयाेग पुग्ने र पेट्रोलियम पदार्थ खरिदमा बाहिरिने रकम देशमै रहनुका साथै नेपालमा उत्पादन भईरहेकाे विद्युत खपतमा बृद्दि भई आन्तरिक आम्दानीमा समेत बृद्दि हुने विश्वास लिएकाे प्रमुख सिंहले बताए ।
नेक्सन इभी म्याक्स नयाँ प्रविधिमा आधारित छ । कम्पनीका अनुसार यसमा निकै टिकाउ ब्याट्री छ । एक पटक चार्ज गरेपछि गाडी बिना कुनै समस्या चार सय देखि चार सय ५० किलोमिटरको दुरी गुड्ने सिप्रदीका जेनरल म्यानेजर सावत जगं सिजापतिले बताए ।
विद्युतीय नेक्सन इभी म्याक्सको बनावट निकै बोल्ड र आकर्षक छ । बाहिरी आर्कषणसँगै यसका विशेषताले पनि ग्राहकहरुको मन लोभयाइरहेको छ ।
डिजेलरपेट्रोल बाट चल्ने कार भन्दा इलेक्ट्रिक कार बढी प्रभावकारी रहने सिजापतिको भनाइ छ । ‘१ रुपैयाँमा १ किलोमिटर दुरी पुग्न सक्छौं’ उनले भने ‘ अन्य भन्दा बढि सुरक्षित छ, ग्लोबल एनक्यापले ५ स्टार दिएको छ ।’
३ कलरमा उपलब्ध नेक्सन इभी म्याक्सको सुरुवाती मूल्य ४६ लाख ४९ हजार तोकिएको छ ।
सो सार्वजनिक कार्यक्रममा वीरगन्ज उधोग वाणिज्य संघका हरि गौतम , डाक्टर अशोक, दास लगायतको उपस्थिति रहेको थियो ।









