अमित अग्रवाल
वीरगञ्ज । साढे एघार लाख मुल्य बराबर बढीको विभिन्न खाद्यान्न सामाग्री तथा लत्ताकपडाहरु पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको अबैध विभिन्न किसिमका खाद्यान्न तथा कपडाहरू पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।
मंगलबार राती साढे ८ बजे विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिष्वा बस्ने लालबाबु साहको घरमा प्रहरी पुग्दा भन्सार छली चोरीपैठारी गरी भण्डारण गरेको विभिन्न किसिमको समान फेला परेको थियो ।
नामथर वतन नखुलेको व्यक्तिले कोठा भाडामा लिई काजु, लत्ताकपडा, खुल्ला पापड, लवाङ्ग, सर्टको थान कपडा लगायतका मालबस्तुहरू भन्सार छली चोरी पैठारी गरी अनाधिकृतरूपमा भण्डारण गरेको पाईएकोमा सो मालबस्तुहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उक्त विभिन्न मालबस्तुहरू मध्ये काजु-४०० के.जी., सर्ट थान कपडा-२२५७ मिटर, खुल्ला पापड-१४७ के.जी., ल्वाङ्ग-७२ के.जी., हुक्काको फलेवर-४६ प्याकेट गरी जम्मा रू.११,६६,७९०।– ( एघार लाख छयसठ्ठी हजार सात सय नवे ) बराबर मुल्यांकन गरि सो मालबस्तुहरूलाई आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।






