Categories समाचार

वीरगञ्जमा अक्षरधाम मन्दिर निर्माण गर्ने मेयर सिंहको तयारी, जग्गादाता अग्रवाल सम्मानित

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जमा स्वामिनारायण अक्षरधाम मन्दिर निर्माण गर्न स्वामिनारायण अक्षरधाम ट्रष्टलाई अनुरोध गर्नु भएको छ । स्वामिनारायण अक्षरधाम गुजरात र कोलकाताबाट वीरगञ्ज आइपुग्नु भएका सन्तहरुलाई स्वागत गर्नुहुँदै महानगर प्रमुख सिंहले वीरगञ्जमा पनि भव्य अक्षरधाम निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

स्वामिनारायण वीरगञ्जको बाटो हुँदै मुक्तिनाथमा ६ महिना ध्यान साधना गर्न पुग्नु भएको ऐतिहासिक स्थान रहेकाले नेपालकै मुख्य प्रवेशद्वार वीरगञ्जमा अक्षरधाम मन्दिरको आवश्यकता खड्कीएको भन्दै त्यसका लागि सहयोग गर्न नगरप्रमुख सिंहले आग्रह गर्नुभयो ।

Advertisement

मन्दिर निर्माणका लागि महानगरपालिकाले पर्याप्त जग्गा र अन्य सहयोग गर्न तयार रहेको भन्दै आर्थिक सहयोग गर्न ट्रष्टलाई आग्रह गर्नुभएको हो ।
स्वामीनारायण अक्षरधामबाट आउनु भएका सन्त साधु अक्षरानन्द दासले वीरगञ्जमा स्वामिनारायण अक्षरधाम मन्दिर निर्माण गर्न ट्रस्ट सकारात्मक रहेको बताउनु भयो ।

Advertisement

महानगरले प्रवेशद्वार नजिकै रहेको लक्ष्मीनारायण मन्दिर रहेको हजारिमल धर्मशालाको करिब ३ विगाहा जग्गामा अक्षरधाम मन्दिर निर्माणका लागि तयारी गरिरहेको छ । मन्दिर निर्माणका लागि तय गरिएको शंकराचार्य द्वार नजिकको जग्गाको वीरगञ्ज आइपुग्नु भएका सन्तहरुलाई स्थलगत अवलोकन समेत गराइएको छ ।

हजारीमल धर्मशालाका नारायण अग्रवालले वीरगञ्जमा अक्षरधाम निर्माणका लागि आफूहरु शंकराचार्यद्वार नजिकको जग्गा दिन तयार रहेको बताउनुभयो ।
स्वामीनारायण अक्षरधामबाट सन्त साधु अक्षरानन्द दास, पुर्णवत्सल दास (कोलकाता), निर्मलासेवा दास र प्रभुद्ध्योगी दास वीरगन्ज आइपुग्नु भएको छ ।

अक्षरधामबाट वीरगञ्ज आइपुग्नु भएका सन्तहरुलाई महानगर प्रमुख सिंह, वीरगन्ज महानगरपालिकाका सद्भावना दूत अशोक बैद्य, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, लायन्स इन्टर्नेशनलका डायरेक्टर संजय खेतान, प्रेस सल्लाहकार महेश दास, वडा अध्यक्ष प्रदीप चौरसिया, वीरगञ्ज उद्योग वाणिज्य सघको उपाध्यक्ष माधव राजपाल, ग्रिन सिटी सामुदायिकका प्रकाश खेतान, जसपा वीरगञ्ज महानगर कमिटी अध्यक्ष ईश्वर चन्द्र यादव लगायतले स्वागत गर्नुभएको थियो ।

जग्गादाता अग्रवाललाई सम्मान
यसैबीच अक्षरधाम निर्माणका लागि प्रवेशद्वार नजिकै करिब ३ विगाहा जग्गा उपलब्ध गराउने हजारिमल धर्मशालाका नारायण अग्रवाललाई सम्मान गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र स्वामिनारायण अक्षरधाम ट्रष्ट गुजरात र कोलकाताबाट आइपुग्नु भएका सन्तहरुले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।

वीरगञ्जलाई ऐतिहासिक धार्मिक नगरि बनाउन अक्षरधाम मन्दिर निर्माणका लागि जग्गा उपलब्ध गराएर पुण्य कार्य गरेको भन्दै अग्रवाललाई सम्मान गरिएको हो ।

वीरगञ्ज बनाउने अभियानमा आफूहरु सँधै तत्पर रहेको भन्दै अग्रवालले आवश्यक परेका बेला जुनसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *