काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिस्टममा समस्या आएका कारणा बिजुली पटक पटक गइरहेको बताएका छन्।
आइतबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले बिजुली कटौति नभइ सिस्टममा आएको समस्या कारण मध्य नेपाल र पश्चिम नेपालमा पटक पटक बत्ती जाने समस्या आएको बताए।
समस्या पत्ता लागिसकेकाले अब बत्ती जाने समस्या विस्तारै हट्दै जाने विश्वास व्यक्त गरे। उनले धेरैजसो सबस्टेसन र प्रसारण लाइनमा फल्ट भएको बताए।
गर्मी बढेसँगै तराईमा विद्युतको लोड बढेको उनको भनाइ छ। उनले भने,’गर्मी बढेसँगै तराई क्षेत्रमा विद्युतको लोड निकै बढेको छ। जसका कारण वितरण लाइनमा समस्या आएको छ। सिस्टममा ओभर लोडिङ छ। ट्रान्सफरमरले लोड थेग्न सकेको छैन। ‘
उनले कोहलपुर, बुटवल, वीरगन्ज क्षेत्रमा ठूलो मात्रामा लोड लिइरहेको बताए। त्यसलाई म्यानेज गर्न मार्जिनमा रहेर काम गरिरहेको उनको भनाइ छ।
उनले खपत नहुने बिजुलीमात्रै बेच्ने गरेको बताए। उनले भने,’यहाँ लोडसेडिङ गराएर भारतमा बिजुली बेचेका होइनौं। बिजुली बिक्री गरेर बत्ती जाने समस्या आएको होइन।’
उनले विद्युतका लागि लगानी चाहिएको बताए। यसका लागि सबै निकायको सहयोग आवश्यक रहेको उनको भनाइ छ। साभार






