Categories रासस

मनकामना मन्दिरको धर्मशालामा स्थानीयको तालाबन्दी

Advertisement

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन् ।  गुठी संस्थानलाई धर्मशाला व्यापारिक प्रयोजनका लागि भाडामा नलगाउन गरेको आग्रहलाई बेवास्ता गरेको जनाउँदै बुधबारदेखि धर्मशालाको भवनमा तालाबन्दी गरिएको स्थानीयवासी मनोज जोशीले जानकारी दिए ।

“योगी, तपस्वी, गरिब, असहाय तीर्थालु भक्तजन बस्नका लागि बनाइएको धर्मशालालाई गुठी संस्थानले गएको ४० वर्षदेखि व्यापारिक प्रयोजनका भाडा लगाएर कमाउने काम मात्र गर्दै आएको छ”, उनले भने, “मनकामनावासीले यस पटक पुनः संस्थानले भाडामा लगाउन बोलपत्र आह्वान गरेपछि बोलपत्र रद्द गर्न आग्रह गरेको भए पनि संस्थानबाट कुनै सुनुवाइ नभएपछि धर्मशालाको भवनमा ताला लगाएका हौँ ।”

Advertisement

धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने भक्तजनलाई बास बस्नका लागि सेवा सुविधा दिने गरी धर्मशालाकै रुपमा सञ्चालनमा ल्याउनुपर्ने स्थानीयवासीको माग छ । स्थानीयवासीसहित श्री मनकामना माई गुठीका गुठियारले असार २ गते संस्थानलाई धर्मशाला भाडामा नलगाउन र बोलपत्र रद्द गर्न भन्दै ज्ञापनपत्रसमेत बुझाएको थियो ।

Advertisement

विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले क्षति पुगेको धर्मशाला मर्मत गर्नुपर्ने अवस्था भए पनि संस्थानले त्यसतर्फ भने चासो नदिएको स्थानीयवासीको गुनासो छ । मनकामना क्षेत्र विकास समितिले पनि मन्दिरको गुरु योजनामा नै धर्मशालामा भक्तजनलाई सुलभ मूल्यमा बसोबासका लागि व्यवस्था मिलाउने योजना प्रस्ताव गरेको थियो । गुरुयोजनाअनुसार धर्मशाला पछाडि रहेको स्थानलाई समेत समेटेर वनभोजस्थलको रुपमा विकास गर्ने लक्ष्य मनकामना क्षेत्र विकास समितिले राखेको छ । स्थानीवासीकोे अनुरोध र आग्रहलाई बेवास्ता गर्दै पुनः बोलपत्र आह्वान भएकाले यसमा ठूलो आर्थिक चलखेल हुनसक्ने आशङ्कासमेत स्थानीयले गरेका छन् ।

धर्मशालालाई गुठी संस्थानले व्यापारिक प्रयोजनको लागि भन्दै व्यक्तिलाई भाडामा दिएर आम्दानी गर्दै आएको छ । संस्थानले व्यवसाय सञ्चालन गर्ने गरी जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर बोलपत्र आह्वान गरेसँगै मनकामनावासीले धर्मशालामा व्यवसाय सञ्चालन गर्न नहुने भन्दै विरोध गर्दै आएका थिए ।

‘फर्क युवा अभियान’

गोरखाको अजिरकोट गाउँपालिकाले विदेशिएका युवालाई गाउँमा नै फर्काएर स्वरोजगार बनाउन ‘फर्क युवा अभियान’ कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले पालिका भित्रका बैदेशिक रोजगारीबाट फर्किएका युवाको ज्ञान, सिप र क्षमतालाई गाउँको विकासमा लगाउँदै स्वरोजगार बनाउनका लागि ‘फर्क युवा अभियान’ कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।

“विदेशबाट फर्किएर फेरि विदेशमा मात्रै अवसर देख्ने युवालाई गाउँमै रहेका थुप्रै अवसरसँग जोड्न सकिन्छ”, उनले भने, “त्यसका लागि गाउँपालिकाले उनीहरुलाई प्रोत्साहन गर्नुपर्छ भन्ने उद्देश्यसहित फर्क युवा अभियान स्वरोजगार कार्यक्रमको थालनी गरिएको हो ।” गाउँपालिकाले चालु आर्थिक वर्षदेखि नै युवालाई गाउँमा स्वरोजगार बनाउन विभिन्न पेसा व्यवसाय सञ्चालनका लागि प्रोत्साहन गर्दै अनुदानसहितको अभियान थालनी गरेको अध्यक्ष देवकोटाले बताए ।

अभियानअन्तर्गत वैदेशिक रोजगारीमा गएर फर्किएका युवालाई अधिकतम रु ५० हजारसम्म आर्थिक अनुदान उपलब्ध गराइने उनले जानकारी दिए । “विदेशबाट फर्किएर सुरु गरेको पेसा, व्यवसाय र लगानीको प्रकृतिको आधारमा अनुदान उपलब्ध गराइने गरी कार्यविधि बनाएर कार्यान्वयन सुरु गरिएको छ”, अध्यक्ष देवकोटाले भने, “अहिले थालनी मात्र गरिएको हो, यो वर्ष २१ जना त्यस्ता युवा छनोट गरी अनुदान उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ ।”

कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका युवालाई स्वदेशमै फर्किएर गाउँमै स्वरोजगार बन्न चाहेमा वा वैदेशिक रोजगारीबाट फर्किएर गाउँमा पेसा व्यवसाय गर्दै आएका युवालाई गाउँपालिकाले प्रोत्साहनका लागि आर्थिक अनुदान उपलब्ध गराउने उनले जानकारी दिए । “अहिले गाउँका युवा सबै विदेशिएका छन्, गाउँमा युवा नहुँदा विकासका निम्ति जनशक्तिको पनि अभाव भएकै छ”, उनले भने, “विदेशबाट फर्किएर गाउँमै केही गर्छु भन्ने युवाका लागि कार्यक्रमले उत्साहित बनाएको छ ।”

अध्यक्ष देवकोटाले विदेशबाट फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउन सके उनीहरुले विदेशमा सिकेका सीपलाई गाउँको विकासका लगाउन सकिने उल्लेख गरे । अनुदान कार्यक्रम सहभागी हुनका लागि श्रम स्वीकृति लिएर विदेश गई अनिवार्यरुपमा ६ महिनाभन्दा बढी विदेशमा काम गरेर फर्किएको हुनुपर्ने, पालिकाभित्र अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गरेकोलगायतका पालिकाले निर्धारण गरेको शर्त पालना गरेको हुनुपर्ने अध्यक्ष देवकोटाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *