Categories स्वास्थ्य

नारायणी अस्पतालमा ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई मेसिन चार महिनादेखि प्रयोग विहिन

Advertisement

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई मेसिन चार महिनादेखि प्रयोग विहिन अवस्थामा अलपत्र परेको छ ।

संघ सरकारको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत खरिद गरेको एमआरआई मेसिन नारायणी अस्पतालमा गत चैत अन्तिम हप्ता नै आइपुगेको थियो ।तर अस्पताल प्रशासनको लापरवाहीका कारण उक्त मेसिन अहिलेसम्म पनि सञ्चालनमा भने आउन नसकेर अलपत्र परेको हो ।

Advertisement

यसअघि गत जेठ २५ मा अस्पताल प्रशासन स्वयंले एक सूचना नै जारी गरेर अस्पतालमा एमआरआई सेवा गत असार १५गते देखि नै सुरु गरिने जानकारी गराएको थियोे ।तर अस्पताल प्रशासनले जारी गरेको उक्त सूचनामा उल्लेख गरिएको मिति बितेको तीन हप्ता भइसक्दापनि एमआरआई सेवा सुरु हुन सकेको छैन ।

Advertisement

अस्पतालको भवनमा एमआरआई कक्ष तयार गरि एमआरआई मेसिन जडान गरिसकिएको भएपनि उक्त मेसिन सञ्चालनका आवश्यक जेनेरेटरको व्यवस्थापन हुन सक्दाँ मेसिन प्रयोगविहिन अवस्थामा अलपत्र परेको हो ।

अस्पतालमा एमआरआई मेसिन आपुर्ति गरेको आपुर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिका प्राविधीक इञ्जिनियर विनोद चौधरीका अनुसार , एमआरआई मेसिन सञ्चालनका लागि ५०० केभिए क्षमताको जेनेरेटेर चाहिन्छ ।चौधरीले भने,‘ मेसिनलाई २४ सै घण्टा चिसोमा राख्नुपर्र्छ , यदि १० मिनेटपनि पावर सप्लाई बन्द भयो मेसिनबाट अति संवेदनसील र महङगो लिथियम ग्याँस लिक भइ हाल्छ ,जसले ठूलो क्षति हुनसक्छ , त्यसका कारण यो मसिनका लागि ५०० केभिए क्षमताकै जेनेरेटेर चाहिन्छ ।

तर हाल अस्पताल प्रशासनसंग २०० केभिए क्षमताकोमात्रै जेनेरेटर छ । उक्त जेनेरेटरबाटै अस्पतालका विभिन्न कक्षमा विद्युत आपुर्ति भइरहेको छ ।त्यसकारण एमआरआई मेसिनलाई आवश्यक विद्युतीय उर्जा उक्त जेनेरेटरबाट आपुर्ति हुन सक्ने अवस्था नभएकाले छुट्टै ५०० केभिए क्षमताको अर्को जेनेरेटर नै आवश्यक भएको इञ्जिनियर चौधरीले बताए ।

अस्पतालका मेसु डाक्टर चित्तरञ्जन साह अनुसार , एमआरआई कक्षममा मेसिन जडान कार्य सकेर एक महिना पहिले २०० केभिए क्षमताकै जेनेरेटर चलाएर मेसिनको परिक्षण गरिएको थियो । तर त्यसक्रममा आवश्यक विद्युतीय उर्जा नपुग्दा मेसिनबाट हिलियम ग्याँस लिक भएको थियो ।

मेसिन सञ्चालनका लागि चाहिने ५०० केभिए क्षमताको नयाँ जेनेरेटर खरिदका लागि आवश्यक बजेट अस्पतालसंग हाल उपलब्ध नभएको अस्पतालका मेसु साहले बताए ।बजेटको व्यवस्थापन नहुदाँसम्मका लागि अस्पताल प्रशासनले मासिक ४ लाख ५० हजार रुपैयाँ भाडा तिर्ने गरि ५०० केभिए क्षमताको जेनेरेटर ल्याएर अस्पतालमा राखेको छ । तर भाडामा जेनेरेटर ल्याएको दुई हप्ता बितिसक्दापनि एमआरआई मेसिन सञ्चालन गरिएको छैन ।

अस्पतालकाम मेसु साहले लिक भएको हिलियम गयाँस रिफल गर्न (फेरि भर्न ) आपुर्तीकर्ता कम्पनिले विलम्ब गरिरहेको बताए । उनले भने,‘ आपुर्तीकर्ता कम्पनिलाई दुई हप्ताको समय दिएका छौं , त्योभित्र उसले ग्याँस रिफिल गरिसक्छ ।

यसका साथै भाडामा ल्याइएको ५०० केभिए क्षमताको जेनेरेटर सञ्चालनका लागि आवश्यक पर्ने अटोमेटिक प्यानल बोर्ड बजारमा नपाएरपनि समस्या भएको अस्पतालका सुचना अधिकारी डाक्टर उदयनारायण सिंहले बताए ।उनले भने ,‘ जेनेरेटर भाडामा त ल्यायौं तर त्यसमा आवश्यक पर्ने अटोमेटिक प्यानल बोर्ड नै बजारमा पाइएको छैन , काठमाडौंमा पाइन्छ कि भनेर त्यतापनि खोज्न लगाएका छौं , त्यहि प्यानल बोर्ड नभएकै कारणलेपनि एमआरआई मेसिन सञ्चालन गर्न नसकिएको हो ।

यसअघि आपुर्तिकर्ताको लापरवाहीका कारण करोडौं मुल्यको एमआरआई मेसिन अस्पताल परिसरको खुला आकाशमुनि साढे २ महिनासम्म थन्काएर राखिएको थियो ।आपुर्तिकर्ता कम्पनीले गत चैतमै मेसिन अस्पतालमा ल्याएर राखेपनि त्यसमा अतिआवश्यक हिलियम ग्याँस उपलब्ध नगराएका कारण अस्पताल परिसरमा खुल्ला आकाशमुनि मेसिन त्रिपालले छापेर अढाइमहिनासम्म राखिएको थियो ।

अस्पतालका सुचना अधिकारी डाक्टर सिंहले अहिले भाडामा जेनेरेटर ल्याएर तत्कालका लागि काम चलाउने तयारी भएपनि अस्पताल आफैंले ५ सय केभिए क्षमताको नयाँ जेनेरेटर खरिदका लागि संघ र प्रदेशका स्वास्थ्य मन्त्रालयसंग बजेटको माग गरिसकेको बताए ।

सिंहका अनुसार, बजेटका लागि अस्पताल प्रशासनले संघ र प्रदेशका स्वास्थ्य मन्त्रालयमा दुई हप्ता पहिले नै पत्रचार गरिसकेको छ । सिंह भन्छन्,‘ सधैंंभरि भाडाको जेनेरेटरले चलाउने अवस्था रहन सक्दैन , त्सका कारण मन्त्रालयमा बजेटको माग गरिसकेका छौं । मधेसखबर बाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *