Categories समाचार

ठाउँठाउँमा टंकी राखेर खानेपानीको प्रबन्ध मिलाउँदै वीरगञ्ज महानगरपालिका

Advertisement

वीरगञ्ज । खानेपानीको समस्यासँग जुधिरहेका नगरवासीका लागि ट्यांकरबाट खाने पानी वितरण गर्दै आएको वीरगञ्ज महानगरपालिकाले अत्यावश्यक स्थानहरुमा टंकी र धारा जडान गर्ने कार्यलाई तिब्रता दिएको छ । खानेपानी संस्थानको पाइपलाइन विस्तार भएको वडा नम्वर १ देखि १७ र १९ मा धारा जडान गर्नुका साथै पाइपलाइन नपुगेका स्थानमा टंकीमार्फत अस्थायी रुपमा पिउने पानीको व्यवस्था मिलाउन सुरु गरिएको हो ।

घरघरमा रहेका चापाकल सुकेर पानीको समस्यासँग जुधिरहेका नागरिकलाई तत्काल आवश्यक पानीको व्यवस्था मिलाउन महानगरका मेयर राजेशमान सिंहले निर्देशन दिनुभएको थियो ।

Advertisement

महानगरले आइतबार वडा नम्वर १ र १५ को सार्वजनिक स्थानमा १० हजार लिटरको टंकी राखेर पिउने पानीको प्रबन्ध मिलाएको छ । यस्तै खानेपानी संस्थानको धारा सार्वजनिक स्थानहरुमा जडान गर्ने कार्य सोमबारदेखि नै सुरु गर्ने गरि आवश्यक सबै प्रकृया मिलाइसकेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

Advertisement

खानेपानी पाइपको लाइन भएका क्षेत्रमा सार्वजनिक चोक तथा बढी चाँप भएका स्थानमा धारा जडान गर्नुका साथै पाइपलाइनले नछोएका वडा तथा स्थानमा भने टंकी नै राख्ने प्रबन्ध मिलाइएको पनि उहाँले बताउनुभयो ।
गमी मौसममा चापाकल सुकेपछि अरु कुनै पानीको स्रोत नभएकाहरुको जनजीवन कष्टकर हुँदै गएकाले महानगरले नगरवासीको जनजीवन सहज बनाउन आवश्यक व्यवस्था मिलाएको हो ।

केही दिनभित्रै ३२ वटै वडामा आफूहरुले धारा जडानका साथै टंकी राखिसक्ने गरी काम गरिरहेको पनि प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।
यस्तै वडा नम्वर २५ का वडाअध्यक्ष आशुतोष चतुर्वेदीले भने आफ्नो व्यक्तिगत खर्चमा टंकी राखेर वडाका बासिन्दालाई पानीको व्यवस्था मिलाउनुभएको छ ।

सबैको प्रयास र हातेमालोबाट मात्रै प्राकृतिक विपत्तिको सामना गर्न सकिने भएकाले वडावासीका लागि आफ्नै लगानीमा १० हजार लिटरको ट्यांकी मार्फत ठाउँठाउँमा पानीको प्रबन्ध मिलाएको उहाँले बताउनुभयो । महानगरको मात्रै मुख ताक्न नहुने भन्दै उहाँले भन्नुभयो ‘सबै जनप्रतिनिधि, उद्योगी व्यवसायी साथमा साथ मिलाएर अघि बढे यस्ता विपत्तिहरु सहजै सामना गर्न सकिन्छ ।’

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *