वीरगन्ज । २०७४ साल माघ अन्तिम साता युएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याइएको तस्करीको साढे ३३ किलो सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो। उक्त सुन बोक्ने भनिएका मोरङको उर्लाबारीका सनम शाक्यको हत्या भएपछि उक्त प्रकरणमा दर्जनौं मानिसहरूको संलग्नता देखिएकोे थियो।
यस प्रकरणमा संगठित रूपमा सुनको अवैध चोरी निकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा तत्कालीन सात जना बहालवाला प्रहरी अधिकारीसहित ७७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो।
मोरङ जिल्ला अदालतले सुन तस्करी प्रकरण र सनम शाक्यको हत्यामा संलग्न मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको सजाय सुनाएको थियो।
हत्याको कसुरमा जन्मकैदको सजाय सुनाइएका अन्यमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन्। अन्य दुईजना अभियुक्तमध्ये राजन कुमारलाई तीन वर्ष र माधव भन्ने मदनकुमार घिमिरेलाई ६ महिना कैद सजाय सुनाइएको अदालतले जनाएको छ। गोरे नामले समेत चिनिएका चुडामणि उप्रेती भने दुईवटै मुद्दामा दोषी ठहरिएका थिए।
उक्त प्रकरणमा मुछिएका नेपाल प्रहरीका उच्च अधिकारीसहित सबै प्रहरीलाई भने अदालतले सफाइ दिएको थियो।
सुन तस्करीमा उनीहरूको पनि मिलेमतो देखिएको भन्दै मुद्दा दायर गरिएको थियो। अभियोग दाबी पुग्न नसकेकाले उनीहरूले सफाइ पाएको फैसलामा उल्लेख छ। उक्त प्रकरणमा संलग्न भनिएका तर फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको थियो। साभार :अन्नपूर्ण पोस्ट






