वीरगन्ज । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुर्नसञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताएका छन् ।
शुक्रबार वीरगन्जमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले भने,‘ चिनी कारखाना पुर्नसञ्चालन गरिन्छ नै भनेर अहिले भन्न सकिने अवस्था छैन । यसका लागि सरकारले सम्भाव्यता अध्ययन भइरहेको छ , यो काम सकेपछि मात्रै चलाउने वा नचलाउने भन्ने कुराको टुङगो लाग्छ ।चिनी कारखना चलाउछ भनेर सरकारले अहिले हचुवाको भरमा घोषणा नगर्नेपनि उनले प्रष्ट पारे ।
यसअघिका अर्थमन्त्री जनार्दन शर्माले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुर्नसञ्चालनको घोषणा गर्दै गत आर्थिक वर्षको बजेटमा २० करोड रुपैया विनियोजन पनि गरेका थिए । सोभियत संघको सहयोगमा २०१९ सालमा निर्माण गरि २०२१ सालदेखि सञ्चालनमा ल्याइएको वीरगन्ज चिनी काराखाना घाटामा गएको भन्दै सरकारले २०५९ फागुनदेखि बन्द गरेको थियो ।
अर्थमन्त्री महतले वीरगन्जस्थित कृषि औजार कारखाना मर्मत सम्भारगरि पुर्न सञ्चालनमा ल्याउनका लागि अर्थमन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई तत्कालका लागि १ करोड रुपैया बजेट उपलब्ध गराइसकेको जानकारी पनि गराए ।
केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले सम्झौता अनुसार अर्थमन्त्रालयले बजेट नदिएका कारण कारखाना मर्मत सम्भारका लागि रकम जुटाउन आफुले पाएका मेडलहरु लिलामीमा राखेको पोष्ट साममाजिक सञ्जालमा राखेका छन् ।
त्यहि प्रसंग बारे सोधिएको प्रश्नमा अर्थमन्त्री महतले भने,‘ सरकारसंगको सम्झौता अनुसार केन्द्रलाई २५ करोड रुपैया दिने उल्लेख छ । त्योमध्ये हालका लागि १ करोड रुपैयाँ अर्थमन्त्रालयले निकासा गरिसकेको छ , बाँकी रकम आवक्श्यकता अनुसार व्यवस्थापन गरिनेछ ।
दुई दशकदेखि बन्द कृषि औजार कारखाना मर्मतसम्भार गरि १० वर्षसम्म सञ्चालनको जिम्मा केन्द्रलाई सरकारले दिएकोे छ ।
फरक प्रसंगमा अर्थमन्त्री महतले एक सय किलो सुन तस्करी प्रकरणमा आफनो कुनै संलग्नता नरहेको जिकिर गरे । सुन तस्करी प्रकरणमा अर्थमन्त्रीको पनि मिलोमतो रहेको भन्ने नेकपा एमालेले लगाएको आरोप गलत भएको उनले बताए ।
महतले भने,‘ अहिले जसलाई जे मन लाग्छ त्यो आरोप लगाइ दिने , सामाजिक सञ्जालमा लेखिदिने गलत प्रवृति बढेको छ । आफनै कारणले त्रिभुवन विमानस्थलबाट एक सय किलो सुन समातिएको दाबीसमेत उनले गरे । सुराकी दिनेलाई प्रोत्साहित गर्न पुरस्कार दिने व्यवस्था आफुले नै गरेको र त्यसैका कारण सुन समातिएको जिकिर महतको थियो ।
वर्तमान सरकारले सुशासन , पारदर्शीता र विकास निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको अर्थमन्त्री महतले बताए । आफुले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाले यता अर्थतन्त्रका समस्याहरु विस्तारै कम हुदै गएको , वैदेशिक मुद्राको सञ्चिचतीमा सुधार आएको , मुल्यवृद्धि क्रमिक रुपमा घ्ट्दै गएको , पूँजी प्रवाहमा देखिएका समस्या सम्बोधन हुदै गएको पनि उनले बताए ।
प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा काँग्रेस केन्द्रिय सदस्य अजय चौरसिया, काँग्रेस पर्साका सभापति एंव प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री , प्रदेश सरकारका पूर्वमन्त्री ओम प्रकाश शर्मा , कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी , वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम , कांग्रेस नेताहरु राकेश सिंह , प्रकाश उपाध्याय , नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान लगायतकोपनि उपस्थिती थियो ।






