Categories समाचार

‘बुहारी शिक्षा कार्यक्रम’ कार्यान्वयनमा आएपछि पढ्ने धोको पूरा

खोटाङ । केपिलासगढी गाउँपालिकाका सातजना बुहारीले पुनः विद्यार्थी जीवन सुरु गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा ‘बुहारी शिक्षा कार्यक्रम’ समेटेर कार्यान्वयनमा ल्याएपछि पढ्ने धोको पूरा गर्न नपाएका विभिन्न वडाका सात जना बुहारीले पुनः विद्यार्थी जीवन सुरु गरेका हुन् ।  

पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीहरूलाई लक्षित गर्दै गाउँपालिकाले चालु आवदेखि बुहारीका लागि शिक्षा कार्यक्रम सञ्चालन गरेको गाउँपालिका उपप्रमुख गुरुराज राईले जानकारी दिए । सात वडा रहेको उक्त गाउँपालिकाले पढ्न चाहने बुहारीहरूलाई कक्षा–१२ सम्म निःशुल्क अध्ययन गराउनेगरी नीति तथा कार्यक्रम पारित गरेर कार्यान्वयनमा ल्याएको हो । 

Advertisement

‘घरमा आमा शिक्षित भए परिवार शिक्षित हुन्छन्’ भन्ने भनाइअनुसार बुहारीलाई शिक्षित बनाउने, क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने र आत्मनिर्भर बन्न प्रेरित गर्ने योजनाअन्तर्गत बुहारी शिक्षा कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख समिर राई बताए । “बुहारी शिक्षामा समेटिन इच्छुक बुहारीहरूले कम्तीमा कक्षा–८ उत्तीर्ण गरेको हुनुपर्छ । उनीहरूलाई कक्षा–९ देखि कक्षा–१२ सम्म नाम लेखाउन, फाराम भर्न, पुस्तक, पोशाक, स्टेशनरीलगायतका आवश्यक सामग्री खरिद गर्न लाग्ने खर्च गाउँपालिकाले उपलब्ध गराउने कार्यविधि पारित गरिएको छ”, उनले भने, “आमा शिक्षित भएको परिवार पनि शिक्षित हुन्छ । समाजमा महिला हरेक हिसाबले आत्मनिर्भर बन्नुपर्छ । तब मात्रै समाज परिवर्तन सम्भव छ । त्यसैले बुहारी शिक्षा कार्यक्रम लागू गरिएको हो ।” 

Advertisement

गाउँपालिकाले कार्यान्वयनमा ल्याएको बुहारी शिक्षा कार्यक्रमअन्तर्गत राष्ट्रिय माध्यमिक विद्यालय बास्पानीबाट विसं २०६७ मा एसएलसी उत्तीर्ण गरेकी वडा नं–३ बास्पानीकी ३१ वर्षीया पुष्पा विश्वकर्मा पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाको कक्षा ११ मा भर्ना गरेर छोराछोरीसँगै अध्ययन सुरु गरेकी छन् । विसं २०६८ मा गाउँमै विवाह गरेकी पुष्पाकी छोरी रोजनी राष्ट्रिय माविको कक्षा ५ र छोरा नेल्सन कक्षा ४ मा अध्ययनरत छन् । 

यस्तै, वडा नं ४ बाक्सिलाकी ३२ वर्षीया लक्ष्मी पौडेल पृथ्वी माविकै कक्षा ११ मा भर्ना भएकी छिन् । बास्पानीकै २५ वर्षीया शान्तिकला राई, पृथ्वी माविमा कक्षा ११ मा भर्ना भएर अध्ययन सुरु गरेकी छन। 

विसं २०६५ मा सिम्ले मावि जलेश्वरीबाट कक्षा ८ उत्तीर्ण गरेकी नीरा विश्वकर्मा र सिद्ध मावि बास्पानीबाट विसं २०७९ मा कक्षा ८ उत्तीर्ण गरेकी सर्मिला राई पृथ्बी माविमा कक्षा ९ मा भर्ना भएका छन्। यस्तै, विसं २०७८ मा विवाह गरेकी बास्पानीकी पूजा राई र दीपा खड्का सोही ठाउँमा सञ्चालित राष्ट्रिय माविको कक्षा ९ मा भर्ना भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिए । 

घरायसी तथा आर्थिक अभावका कारण बीचमै पढाइ छाडेका उनीहरू सबैले पुनः अध्ययन सुरु गरेसँगै आफैँ पढेर जागिर खाने योजना बनाएका छन् । १० स्थानीय तह रहेको जिल्लामा केपिलासगढी गाउँपालिकाले सुरुआत ‘बुहारी शिक्षा कार्यक्रम’ नमूना कार्यक्रमको रूपमा हेरिएको छ ।  –रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *