Categories समाचार

भक्तपुर बाल सुधारगृहबाट वीरगञ्ज आएका १८ मध्ये १५ जना फिर्ता

पर्सा । भक्तपुर बाल सुधारगृहबाट ल्याइएका १८ मध्ये १५ जना कैदीलाई फिर्ता पठाउने सहमतिपछि वीरगञ्जस्थित बाल सुधारगृहको अवस्था नियन्त्रणमा आएको छ । ३ साताअघि भक्तपुरको बाल सुधारगृहबाट ल्याइएका १८ जना बालकैदी र यहाँ पहिलेदेखि बस्दै आएका कैदीहरूबिच मंगलवार रातभर झडप भएको थियो ।

झडपले उग्र रूप लिँदा स्थिति नियन्त्रण बाहिर गएको थियो । बालकैदीबिच भएको झडमा ११ जना कैदी र ३ जना प्रहरी घाइते भएका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भक्तपुरबाट आएका १८ जना कैदीमध्ये १५ जना फिर्ता पठाउने सहमति भएपछि मात्रै स्थिति नियन्त्रणमा आएको बताए ।  

Advertisement

भक्तपुरबाट आएका बालकैदीहरूले यहाँ नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए । सोही विषयलाई लिएर उनीहरूले सुधार गृहका नाइकेसँग विवाद गरी कुटपिट गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

Advertisement

पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरीक्षक कोमल विक्रम शाह, वीरगञ्ज महानगरपालिका अन्तर्गत बालबालिका शाखा प्रमुख सावित्री भण्डारी, पत्रकार, मानवअधिकारकर्मीहरू र कैदीहरु बिच बुधवार दिनभर वार्ता भएको थियो । ‘भक्तपुरबाट ल्याइएका १८ जना मध्ये १५ जना कैदीलाई फिर्ता पठाउने, सुधारगृहभित्र बिजुली, खानेपानी, सरसफाई, निःशुल्क स्वास्थ्य उपचारको राम्रो व्यवस्था हुनुपर्ने लगायतका विषयमा सहमति भएको छ’ पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले भने ।

बालकैदीहरूले उठाएको मागलाई सम्बोधन गर्न पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । भक्तपुरबाट ल्याइएका र पहिलेदेखि बस्दै आएका कैदीबिच भएको झडपमा बाल सुधारगृह भित्रका पर्खाल, ढोका, झ्याल, खानेपानीको ट्याङ्की, चापाकल, भान्साको सामान, बालकैदीहरू सुत्ने खाट, बिछ्यौना लगायतमा क्षति पुगेको छ ।

भक्तपुरको बाल सुधारगृहमा भदौ ४ मा जेल फुटाएर विरोध गर्दै निस्किएका मध्ये १८ जना बालकैदीहरूलाई वीरगञ्जको बाल सुधार गृहमा ल्याइएको छ ।  यहाँ पहिलेदेखि १३१ जना बालकैदी रहँदै आएका छन् । सुधारगृहमा अहिले कुल १४९ जना बालकैदी छन् तर सुधार गृहको क्षमता भने ६० जनामात्रै रहेको प्रजिअ रेग्मीले जनाए ।

अदालतबाट फैसला हुदाँ बालिग रहेका सुधार गृहका कैदीहरु अहिले २५÷२६ वर्ष उमेर पुगिसकेको तर, अदालतबाट फैसला नआएसम्म सुधारगृहबाट कारागारमा राख्न नसकिने प्रजिअ रेग्मीले जनाए । साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *