Categories समाचार

अन्य प्रदेशको तुलनामा मधेसमा पुरुषभन्दा महिलाको जनसंख्या कम

वीरगन्ज । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार आफ्नो फेसबुक पेज ‘राष्ट्रिय जनगणना २०७८’ मा एउटा तथ्यांक सार्वजनिक गर्यो– ‘अन्य प्रदेशको तुलनामा मधेसमा पुरुषभन्दा महिलाको जनसंख्या घट्दो छ।’

त्यहाँ भनिएको छ– ‘राष्ट्रिय जनगणना २०७८ अनुसार मधेस प्रदेशको जनसंख्या ६१ लाख १४ हजार ६ सय रहेको छ। जसमा पुरुषको जनसंख्या ३० लाख ६५ हजार ७ सय ५१ छ भने महिलाको जनसंख्या ३० लाख ४८ हजार ८ सय ४९ छ।

Advertisement

लैंगिक दृष्टिकोणले हेर्दा अन्य नेपाल र अन्य प्रदेशको भन्दा मधेसको जनसांख्यिक विशेषतामा कहीँ भिन्नता पाइन्छ। समग्र जनसंख्या र अन्य प्रदेशको जनसंख्यामा महिलाको जनसंख्या बढी र पुरुषको कम भए पनि मधेस प्रदेशमा पुरुषको जनसंख्या प्रतिशत ५०.१ र महिलाको ४९.९ प्रतिशत रहेको छ। यस प्रदेशको लैंगिक अनुपात १००.५५ प्रतिशत रहेको छ। मधेस प्रदेशको जनसंख्याको लैंगिक र उमेरगत संरचनालाई बुझ्न तल उल्लेखित जनसंख्या पिरामिडलाई अध्ययन गर्दा स्पष्ट हुन्छ।’

Advertisement

पिरामिडमा उल्लेख गरेको तथ्यांक सहितको यो तथ्यले मधेसमा किन महिला कम भए भन्ने प्रश्न जन्माउँछ। विश्लेषक भन्छन्, ‘यसको प्रमुख कारण भनेकै जनचेतनाको कमी र दाइजो प्रथा हो, छोरा र छोरीबीचको विभेद हो।’ पुरुषको तुलनामा महिलाको संख्या घट्दै जानु पछाडि सामाजिक चेतना, आर्थिक परिवेश र पुरातनवादी सोचले मुख्य भूमिका निर्वाह गरेको जानकारहरू बताउँछन्।

मधेसमा लैंगिक अनुपातमा फरक आउनुको पछाडिको एउटा कारण छोरा र छोरीबीच मेटिन नसकेको असमानता पनि हो। अहिले पनि हाम्रो समाज पुरातनवादी सोचमै अड्किएको छ। फेरि सबै जिल्लामा समान अवस्था छैन। विमलकुमार यादव, प्रमुख, तथ्यांक कार्यालय धनुषा

प्रदेशका आठवटै जिल्लाको जनसंख्याको अवस्था विश्लेषण गर्दा पुरुषको अनुपातमा महिलाको संख्या कम भएका जिल्लाहरूमा सबैभन्दा अग्रस्थानमा पर्सा जिल्ला रहेको छ। पर्साको कुल जनसंख्या ६ लाख ५४ हजार ४ सय ७१ छ। जसमध्ये पुरुषको जनसंख्या ५१.७ प्रतिशत छ भने महिला मात्र ४८.३ प्रतिशत छन्।

दोस्रो स्थानमा बारा जिल्ला छ। बारा जिल्लाको कुल जनसंख्या ७ लाख ६३ हजार १ सय ३७ छ जसमध्ये पुरुषको जनसंख्या ५९.१ प्रतिशत र महिला ४८.९ प्रतिशत छन्। त्यसैगरी रौतहटमा कुल जनसंख्या ८ लाख १३ हजार ५ सय ७३ मध्ये पुरुष ५०. २ प्रतिशत छन् भने महिला ४९.८ प्रतिशत छन्।

सर्लाहीमा भने कुल जनसंख्या ८ लाख ६२ हजार ४ सय ७० मध्ये पुरुष ५०.५ प्रतिशत छन् भने महिलाको संख्या ४९.५ प्रतिशत छ। आठ जिल्लामध्ये चार जिल्लामा महिलाको संख्या पुरुषभन्दा कम छ भने अन्य चार जिल्ला सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा पुरुषको तुलनामा महिला नै बढी छन्।
मनिका झा/अन्नपूर्णपोष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *