वीरगञ्ज । मूर्ति सेलाउने क्रममा दुई समूहबिच भएको विवाद पश्चात् भएको झडपले उग्र रूप लिए पनि सर्लाहीको सदरमुकाम मलङ्गवा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ ।
बिहीबार राती गणेश चतुर्थीपछि भगवान् गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समूहबिच भएको विवाद र झडपले उग्रा रूप लिएपछि स्थिति नियन्त्रणमा लिन मलङ्गवामा आज राती १० बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि कर्फ्यु जारी भएको हो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहीबार राति १० बजेदेखि लागू हुने गरी अर्को आदेश वा व्यवस्था नहुन्ज्यालसम्म लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यु आदेश जारी गरिएको एउटा सूचना जारी गर्दै जनाएका छन् ।
बिहीबार साँझ भएको झडपमा आधा दर्जनभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रुग्याँस समेत प्रहार गरेको थियो ।
कर्फ्यु अवधिमा पुरानो मलङ्गवा नगर क्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोस्ट/बाबा पेट्रोलपम्म) सीमा क्षेत्रभित्र कसैले आवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवम् अरू कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाइने सूचनामा उल्लेख छ ।
कर्फ्यु आदेशको उल्लङ्घन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकताअनुसार बल प्रयोग गरी कानुनबमोजिम कारबाहीसमेत गरिने सूचनामा लेखिएको छ ।
डेढ साताअघि पनि दुई समुदायबिच झडपले उग्र रूप लिएपछि मलङ्गवामा कर्फ्यु लगाइएको थियो ।







