Categories समाचार

कक्षा कोठाको उद्घाटन गर्दै पूर्व मन्त्री यादवले भने – “शिक्षामा लगानी देशको भविष्य निर्माणमा योगदान”

वीरगञ्ज । राउन्ड टेबल नेपालले वीरगञ्जको एक स्कूलमा निर्माण गरेको कक्षा कोठाको जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले उद्घाटन गरेका छन् ।

वीरगञ्ज महानगरपालिका – २१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालयमा राउन्ड टेबल नेपालले राउन्ड टेबल नेपाल – ३ सँगको सहकार्यमा निर्माण गरेको कक्षा कोठाको पूर्व मन्त्री समेत रहेका यादवले शुक्रवार उद्घाटन गरेका हुन् ।

Advertisement

उद्घाटन पश्चताको कार्यक्रममा बोल्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले युवाहरूको संस्था राउन्ड टेबल नेपालले समाज प्रतिको आफ्नो दायित्वलाई बुझ्दै निरन्तर गर्दै आइरहेको परोपकारी कामको प्रशंसा गरे । शिक्षामा लगानी गरेर राउन्ड टेबल नेपालले देशको भविष्य निर्माणमा योगदान गरिरहेको बताउँदै अन्य सङ्घ संस्थाहरूले पनि उनीहरूबाट प्रेरणा लिनुपर्ने बताए ।

Advertisement

युवा उद्यमीहरू मिलेर बनेको संस्थाले गरिरहेको कामलाई निरन्तरता दिन आग्रह गर्दै उनले नेपाल सरकारले पनि राउन्ड टेबल नेपाल जस्तो संस्थाका विशेष सम्मान गर्नुपर्ने बताए । यसका लागि आफूले सरकारसँग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

“फ्रीडम थ्रु एजुकेसन” कार्यक्रम मार्फत ३० लाख रुपैयाँको लागतमा राउन्ड टेबल नेपाल – ३ ले स्कूलमा २ वटा कक्षाको कोठा निर्माण गरेको छ । एउटा कोठामा कम्तीमा पनि ५० जना विद्यार्थी अटाउने क्षमता रहेको संस्थाका अध्यक्ष अङ्कुर भंगरले जानकारी दिए ।

भंगरकै सभापतित्वमा भएको कार्यक्रममा राउन्ड टेबल नेपालका निवर्तमान अध्यक्ष राहुल अग्रवाल, वीरगञ्ज – २१ का वडाध्यक्ष राधा कृष्ण साह रौनियार, रूङ्गटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रूङ्गटा, जनता समाजवादी पार्टी नेपालका युवा नेता सरोज यादव लगायतको सहभागिता रहेको थियो ।

राउन्ड टेबल नेपालले यसअघि पनि  वीरगञ्जलगायत पर्सा, बारा, रौतहट लगायत तराई – मधेसका जिल्लाहरूमा स्कूल निर्माणदेखि छात्रवृत्ति, पठनपाठन लगायत स्कूलका लागि आवश्यक सामग्रीहरू वितरण गर्दै आएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *