Categories समाचार

‘रात्रि बजार’ पुनः सुरु गर्ने महानगरको तयारी, घटस्थापनादेखि ५ दिनसम्म चल्ने

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाले ‘रात्रि बजार’ पुनः संचालन गर्ने तयारी गरेको छ । नेपालीहरुको महान पर्व दशैं नजिकिँदै गरेको र मौसमसमेत सुधार भएकाले गएको दुई महिनादेखि रोकिएको ‘रात्रि बजार’ पुनः संचालन गर्ने तयारी गरेको हो । महानगरले यस पटकको ‘रात्रि बजार’ ५ दिन लगाउने गरि तयारी गरिरहेको छ ।

दशैंको पहिलो दिन घटस्थापनाबाट सुरु गर्ने गरि मेला लगाउने तयारी गरेको महानगरका प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यही असोज २८ गते घटस्थापनाका दिनबाट पुरानो बसपार्कमा सुरु हुने मेला कात्तिक २ गतेसम्म ५ दिन चल्ने गरि लगाउने तयारी थालेका छौँ ।’

Advertisement

यस्तै महानगरले भारतबाट नेपाल प्रवेश गर्ने वीरगंजस्थित मुख्य नाका ५ दिनका लागि राति १२ बजेसम्म खुल्ला रहने जनाएको छ । रात्रि बजारमा पर्यटक भित्र्याउन वीरगंज नाका रातको १२ बजेसम्म खुल्ला रहने महानगर प्रमुख सिंहले बताउनुभयो ।

Advertisement

नेपाल–भारत सीमा नाका राति १० देखि बिहान ५ बजेसम्म दुवैतर्फ बन्द हुने गर्दछ । तर बजार लाग्ने ५ दिन नाका अबेर राति १२ बजेसम्म खुल्ला राख्न महानगरले नेपाल र भारत दुवै देशका सीमावर्ती सुरक्षा निकायसँग सहमति लिइसकेको छ ।

महानगरभित्रको व्यापार व्यवसाय चलायमान बनाउन र पर्यटक भित्र्याउन महानगरले गएको बैशाख महिनादेखि रात्रि बजार लगाउन सुरु गरेको हो ।
यस पटकको ‘रात्रि बजार’ दशैंका बेला परेकाले आम सर्वसाधारणलाई सहज हुने गरि सहुलियत दरको पसल समेत संचालन गर्ने तयारी महानगरले गरेको छ । त्यसका लागि घरेलु तथा साना उद्योगसँग सहकार्य गरिएको छ ।
दशैं लक्षित रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका स्टल सहित दैनिक उपभोग्य बस्तुहरु समेत राखिनेछ ।

महानगरले ‘रात्री बजार’ सञ्चालनका लागि विभिन्न संघ संस्थासँग समेत सहकार्य गरेको छ । घरेलु तथा साना उद्योग, ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले दशैं लक्षित रात्रि बजार लगाउन लागेको हो । रात्रि बजारमा लगाइने स्टलहरु बुकिङ खुल्ला गरिएको पनि ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताउनुभयो ।

आदर्शनगरस्थित पुरानो बसपार्कमा करिब १ सय स्टल लगाउने गरी तयारी गरिएको हो । प्रति स्टल २ हजार रुपैयाँ शुल्क राखिएको एनवाईईएफ वीरगंजका संस्थापक अध्यक्ष अनुप अग्रवालले जानकारी दिनुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *