वीरगञ्ज । हेटौँडा उपमहानगरपालिका–२ चौकी टोलका नारायणप्रसाद देवकोटाका ३८ वर्षीय छोरा नीराजन देवकोटा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कमा काम गर्थे । उनले तत्कालीन मेगा बैङ्कमा ७ वर्ष र प्रभु बैङ्कलगायत वित्तीय संस्थामा गरी करिब १८ वर्ष बैङ्किङ क्षेत्रमा बिताएका थिए ।
उनै ३८ वर्षीय देवकोटाले असोज १५ साँझ साढे ६ बजे धादिङ घाटबेसीस्थित पुलबाट त्रिशूली नदीमा हाम फालेको प्रहरीले जनाएको छ । धादिङ प्रहरीका अनुसार उनको खोजी कार्य जारी छ । अहिलेसम्म उनलाई भेट्टाउन सकिएको छैन । उनले चढ्ने मोटरसाइकल पुलमै रोकिएको अवस्थामा थियो ।
देवकोटाका बुबा नारायणप्रसाद राष्ट्रिय सहकारी दुग्ध विकास सङ्घका अध्यक्ष र सहकारी अभियन्ता हुन् । हेटौँडाका व्यावसायिक घरानमध्ये एक मानिएका देवकोटाका भाइ अस्ट्रेलिया बस्छन् । देवकोटाका लागि बैङ्कको जागिर आम्दानीको प्रमुख स्रोत नभएर ‘प्रोफाइल मेन्टेन’ गर्ने माध्यम मात्रै रहेको उनी निकटहरू बताउँछन् ।
बैङ्कबाट पनि आकर्षक तलब बुझ्ने देवकोटाको हेटौँडामा आफ्नै लगानीमा दुई होटेल सञ्चालनमा छन् । जसको व्यापार अन्य स्थानीय होटेलका तुलनामा दोब्बरजस्तै छ । देवकोटालाई पारिवारिक आवश्यकता होस् वा अन्य विलासिताको आवश्यकता पूरा गर्न वैकल्पिक माध्यम वा गैह्र कानुनी तरिकाले आम्दानी सङ्कलन गर्नुपर्ने अवस्था नरहेको उनकै सहकर्मीहरू बताउँछन् ।
‘उनको बुबाले मुख्यमन्त्री वा सोसरह सरकारी सेवा सुविधा उपयोग गरेर हिँडिरहनुभएको छ भने उनकै पनि राम्रो चलेका दुइटा होटेल छन्,’ देवकोटाका एक सहकर्मीले भने, ‘बैङ्कको तलबभन्दा धेरै आम्दानी बाहिरबाटै हुँदा उनले कर्जा पास गर्दा घुस लिएर आफ्नो आवश्यकता टार्नुपर्ने कुनै कारण छैन ।’
उनले मेगा बैङ्कमा अधिकृत तहबाट जागिर सुरु गरी सहायक प्रबन्धक तहसम्म पुगेका थिए । तत्कालीन मेगा बैङ्क हेटौँडा पारिजातपथ शाखामा चार वर्ष प्रमुखको जिम्मेवारी सम्हालेका देवकोटा पछिल्लो समय जिम्मेवारीविहीन जस्तै थिए ।
त्यस बेला मेगा बैङ्कका शाखामध्ये उत्कृष्ट शाखा र उत्कृष्ट कर्मचारीको पुरस्कार पाएका शाखा प्रमुख देवकोटाले एक महिनाअघि जागिरबाट राजीनामा दिएर स्वीकृतिको पर्खाइमा थिए ।
तत्कालीन टुरिजम डेभलमेन्ट बैङ्कले सञ्चालन गरेको पारिजातपथ शाखा मेगाले प्राप्ति गरेपछि देवकोटा त्यहाँको प्रमुख थिए । उक्त शाखा मेगा बैङ्ककै अर्को शाखा कान्तिराजपथसँग मर्ज भएपछि देवकोटाको शाखा प्रमुखको जिम्मेवारी खोसियो ।
उनलाई वैकल्पिक अर्थात् अर्को नहुँदासम्मका लागि मात्रै शाखा प्रमुखको जिम्मेवारी बैङ्क व्यवस्थापनले दिएको थियो । उक्त शाखाका प्रमुख मानवी बोसको अनुपस्थितिमा मात्रै शाखा प्रमुखको जिम्मेवारी पाउने गरी देवकोटालाई उक्त शाखामा राखिएको थियो । अधिकांश बैङ्क तथा वित्तीय संस्थामा सिइओ, विभागीय प्रमुख, शाखा प्रमुखमार्फत पास भएका फाइलको अडिट गर्ने चलन छ । सोही क्रममा देवकोटा शाखा प्रमुख हुँदा उनले दिएको कर्जाको फाइल अडिट हुँदा बैङ्क व्यवस्थापनले अनावश्यक दुःख दिने काम गरिरहेको थियो ।
हेटौँडाका स्थानीय धनाढ्य तथा राजनीतिक पहुँच भएका देवकोटाले आफूलाई बैङ्क व्यवस्थापनले गरेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै बैङ्कबाट बाहिरिने निर्णय गरेका थिए ।
उनले बैङ्कको जागिर छाडेर भाइसँगै २/४ महिना अस्ट्रेलिया घुमेर आउने योजना बनाएका थिए । देवकोटाले गत भदौ ३ गते नै जागिरबाट राजीनामा दिएका थिए । बैङ्क कर्मचारी नियमावलीअनुसार उनको राजीनामा असोज ३ सम्म स्वीकृत भइसक्नुपर्ने थियो । तर, बैङ्कले उनको राजीनामा स्वीकृत नगरी अनुसन्धानका नाममा अनावश्यक दुःख दिँदै काठमाडौँ बोलाएर पटक/पटक सोधपुछ गरिरह्यो ।
‘असोज ४ गते नै स्वीकृत हुनुपर्ने राजीनामा व्यवस्थापनले हुन्छ/हुन्छ भन्दै झुलाइरहेको थियो । यस्तो निर्णय गर्ने मान्छे त होइन, तर पछिल्लो समय म्यानेजमेन्टले जसरी अनुसन्धान गर्यो, त्यसले मलाई धेरै मानसिक तनाव भएको छ भनेर भेट हुँदा भन्ने गर्नुहुन्थ्यो,’ उनका अर्का एक सहकर्मीले भने ।
बैङ्क स्रोतका अनुसार बैङ्कले देवकोटा शाखा प्रमुख हुँदा दिएको कर्जाको केही फाइलमा घुस लिएको शङ्का गर्दै अनुसन्धान गरिरहेको थियो । अडिटमा देवकोटामार्फत प्रवाहित कर्जाको फाइलमा खासै समस्या देखिएको छैन । तर, उनी कार्यरत शाखा मर्ज भएपछि बैङ्क उच्च व्यवस्थापनले उनलाई कयौँ पटक फोनमार्फत, कति पटक हेटौँडामा भएको मान्छेलाई काठमाडौँ नै बोलाएर सोधपुछ गरेको छ । कर्तव्यनिष्ठता भएर दिएको जिम्मेवारी समयमै पूरा गर्ने बानी परेका देवकोटा जिम्मेवार विहीन भएर कार्यालयको कुर्सीमै रहनु पर्दा थप तनावमा थिए ।
व्यवस्थापनले दिएको मानसिकसँगै अन्य प्रकारको तनाव थेग्न नसकेर उनले राजीनामा दिएको अर्का सहकर्मी बताउँछन् । तर, बैङ्क व्यवस्थापनले उनलाई दुःख दिएर अन्य कर्मचारी तर्साउने मनसाय बनाएको भएर उनको राजीनामा स्वीकृत नगरेको स्रोतको दाबी छ ।
‘खासमा व्यवस्थापनले नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेको थियो, देवकोटाजीलाई दिएको दुःख देखेर डरले अन्य कर्मचारीले जागिर छाडुन् भन्ने आशय व्यवस्थापनको हो,’ स्रोत भन्छ, ‘असोज ४ गते नै स्वीकृत हुनुपर्ने राजीनामा व्यवस्थापनले हुन्छ/हुन्छ भन्दै झुलाइरहेको थियो ।’
देवकोटाले काठमाडौँ आउँदा आफ्ना सहकर्मीहरूसँग राजीनामा स्वीकृत भएपछि अस्ट्रेलिया जाने, २/४ महिना रिफ्रेस भएर आएपछि पारिवारिक व्यवसाय सम्हाल्ने योजना सुनाएका थिए ।
बैङ्क व्यवस्थापनले उनको राजीनामा स्वीकृत गर्न असोज दोस्रो साता अन्तिम अन्तर्वार्ता र बरबुझारथ पनि गराएको थियो । तर, राजीनामा स्वीकृत नगरी हेटौँडाका स्थानीय र वर्षौँ घर पायक जागिर खाएका देवकोटालाई केन्द्रीय कार्यालयमा सरुवा गरिदियो ।
उनलाई काठमाडौँ केन्द्रीय कार्यालयको जोखिम व्यवस्थापन विभागमा सरुवा गरिएको थियो । राजीनामा स्वीकृतिका लागि उनलाई अन्तर्वार्तामा बोलाएर बरबुझारथसमेत गरिसकेपछि पनि बैङ्कले अनौपचारिक राजीनामा स्वीकृत नभएको जानकारी असोज १० बिहान पठाएको थियो ।
उनी सोही दिन काठमाडौँ आएर ११ गते हेटौँडा फर्किएका थिए । केन्द्रीय कार्यालयमा आफ्नो राजीनामा स्वीकृत नहुनको लिखित कारण माग गर्दा व्यवस्थापनले नदिएर सरुवाको निर्देशन कार्यान्वयनको मनस्थिति बनाउन भनेर पठाएको थियो ।
‘उहाँको राजीनामा के कारणले स्वीकृत गरिएन, त्यो इमेलमार्फत औपचारिक रूपमा अफिसले पठाउनुपर्ने हो । तर, मोबाइलमा एसएमएस पठाएर राजीनामा स्वीकृत नभएको जानकारी गराएर हेड अफिस बोलाएर रिस्क डिपार्टमेन्ट सरुवा आउनु भनियो,’ देवकोटाका एक सहकर्मीले भने, ‘इज्जत प्रतिष्ठामा रहेको व्यक्तिलाई अनेकौँ झुटा लाञ्छना लगाउँदा उसको आत्मसम्मानमा ठेस पुग्दाको परिणाम हो उनले त्रिशूलीमा हाम फाल्नु । यसरी आत्महत्यासम्म गर्न दुरुत्साहन गराउने व्यवस्थापनप्रति हामी सबै बैङ्कर विरोधमा छौँ ।’
बैङ्क व्यवस्थापनले उनलाई असोज १५ गते आफ्नो शाखाका कर्जा म्यानेजरलाई लिएर काठमाडौँ हेड अफिस आउन निर्देशन दिएको थियो । देवकोटा हेटौडाबाट काठमाडौँसम्म लोन म्यानेजरसँग आएका थिए । हेटौडाबाट दक्षिणकालीको बाटो हुँदै काठमाडौँ बल्खुमा आइपुगेपछि देवकोटाले ‘१० मिनेट अर्को साथीलाई भेटेर आउँछु, तपाईँ जाँदै गर्नू भनेर’ लोन म्यानेजरलाई पठाए । लोन म्यानेजर बैङ्क सिइओ ज्योति पाण्डेलाई भेट्न लाजिम्पाट पुगे । तर, एक घण्टासम्म देवकोटा नआएपछि फोन गर्दा उठेन । त्यसको केही समय पछि देवकोटाको फोन स्विच अफ भएको थियो ।
‘एक/डेढ घण्टापछि उहाँको फोन अफ भएको हो । साँझ त त्यो खबर आयो । काठमाडौँ आएर सिइओसँग भेट्नु र थप तनाव थेग्नुभन्दा यस्तो कदम चाल्नु नै ठिक ठानेर फर्किनुभएको रहेछ,’ ती सहकर्मीले भने । हेटौँडाका स्थानीय बैङ्कका ग्राहकले आफ्नै गाउँले रहेका शाखा प्रमुखबारे अनुसन्धान हुँदा उनको इज्जतमा प्रश्न उठ्न थालेपछि उनी मानसिक रोगको सिकार बन्दै गएको स्रोतको भनाइ छ । कर्जाको ग्राहक मात्रै नभएर बैङ्कले अनुसन्धान भन्दै देवकोटाको पारिवारिक सम्बन्ध भएका व्यक्ति र छिमेकीसँग पनि सोधपुछ गरेको स्रोतको भनाइ छ ।
देवकोटानिकट स्रोतका अनुसार उनले ‘सुसाइड नोट’ समेत लेखेका छन् । उनले घरमै एउटा डायरीमा ‘आफूलाई भइरहेको समस्याबारे र बैङ्क व्यवस्थापनले दिएको टर्चरले मानसिक रोगको सिकार बन्दै गएको हुँदा आत्महत्याको सोचाइ आउन थालेको’ लेखेको स्रोतको भनाइ छ ।
‘देवकोटाजीलाई मेगा मर्जरले नै आत्महत्यासम्म पुर्याएको हो । उहाँले गल्ती नै गर्नुभएको थियो भने पनि बैङ्किङ कसुर ऐनअन्तर्गत रहेर कानुनी व्यवस्थाअनुसार कारबाही गर्ने ठाउँ थियो,’ ती सहकर्मीले भने, ‘तर, यसरी कुनै कारण नदेखाई राजीनामा अस्वीकार गरेर मानसिक तनाव दिने काम गर्नु हुँदैन थियो । मेगावाट आएका ९० प्रतिशत कर्मचारीलाई अहिले व्यवस्थापनले मानसिक तनाव दिइरहेको छ ।’
तत्कालीन मेगा बैङ्क हेटौँडा शाखाबाट प्रवाहित कर्जाका विषयमा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क केन्द्रीय कार्यालयबाट पटक/पटक अनुसन्धानको ‘टर्चर’ थेग्न नसकेपछि देवकोटाले चौथो पटक स्पष्टीकरण दिएर फर्किने क्रममा त्रिशूलीमा हाम फालेका थिए ।






