Categories समाचार

हुलाक टिकट अब नेपालमै छापिने

Advertisement

काठमाडौं । हुलाक टिकट अब नेपालमै छापिने भएको छ। हुलाक टिकट छाप्न हुलाक सेवा विभाग र भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रबीच सहमति भएको छ।

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ,विभागका महानिर्देशक प्रदीपराज अधिकारीले टिकट छाप्न विदेश जानुपर्ने बाध्यता अन्त्य गर्न लागेको बताए। ‘निजी छापाखानाले सुरक्षाका साथ छाप्न सक्ने देखिएन। सुरक्षासाथ नेपालमै छाप्न सक्ने प्रकाशनगृहको खोजी हुँदा जनक शिक्षा उपयुक्त देखियो’, उनले भने, ‘मतपत्र, राजस्वका स्टिकरलगायत त्यहीँ छापिने रहेछन्। सरकारी निकाय पनि भएकाले जनक शिक्षालाई यसको जिम्मेवारी दिने सहमति गर्‍यौँ।’

Advertisement

टिकटको प्रचलन थाल्दा नेपालमै टिकट छापिने गरेको विभागका पदाधिकारी बताउँछन्। प्रविधि परिवर्तन हुँदै गएपछि छपाइका लागि विदेश पठाउन थालियो। टेण्डर प्रक्रिया अनुसार छाप्दा भारत, इन्डोनेसिया, बेलायतलगायतका मुलुकमा छपाइ हुन्थ्यो। यसरी छाप्दा विभागका पदाधिकारी हरेक वर्ष दुई तीन पटक ती मुलुकमा निरीक्षणमा जाने गरेका थिए। 

Advertisement

विदेशमा छपाइ हुँदा प्रति टिकट सरदर एक रुपैयाँ खर्च हुन्थ्यो। जनक शिक्षाले प्रतिटिकट ९५ पैसामा छपाइ गरिदिने प्रस्ताव दिएको छ। विभागसँग स्टक सकिने अवस्थामा रहेको १० रुपियाँ दरको हुलाक टिकट पहिले छपाइ गरिने छ। विभागले एक रुपियाँ र पाँच रुपियाँ दरका पनि हुलाक टिकट छाप्ने गरेको छ। शुरुमा के कति परिमाणमा हुलाक टिकट छपाइको जिम्मा दिने भन्नेबारे टुङ्गो लागिसकेको छैन।

जनक शिक्षाले आफ्नो सेक्युरिटी प्रेसमा हुलाक टिकट छपाइ गर्ने भएको छ। छपाइका क्रममा सुरक्षार्थ नेपाली सेनालाई परिचालन गरिने छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को प्रश्नपत्र, मतपत्रलगायत छाप्दा नेपाली सेनाका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि खटाउने गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *