Categories समाचार

खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काटिँदै

Advertisement

वीरगन्ज । वीरगन्जस्थित नेपाल खानेपानी संस्थानले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काट्न सुरु गरेको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नबुझाउने परिपाटी बढ्दै गएपछि संस्थानले पहिलो चरणमा ५० हजारभन्दा बढी बक्यौता राख्ने पाँच सय ४२ ग्राहकको नाम कालोसूचीमा राखेर धाराको लाइन काट्न सुरु गरेको हो ।

महसुल बुझाउन पटक–पटक पत्राचार गरे पनि ग्राहकले बक्यौता बुझाउन आलटाल गर्दै आएपछि धाराको लाइन काट्न सुरु गरिएको नेपाल खानेपानी संस्थान वीरगन्जका प्रमुख निरण महर्जनले जानकारी दिए । पछिल्लो एक सातादेखि धाराको लाइन काट्न सुरु गरेयता ११ ग्राहकको धाराको लाइन काटिएको प्रमुख महर्जनले बताए ।

Advertisement

संस्थानले ग्राहकबाट करिब १२ करोड २६ लाख बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । संस्थानले एउटै ग्राहकबाट रु दुई लाखभन्दा बढीसम्म बक्यौता उठाउनुपर्ने देखिएकाले कालोसूचीमा राखेर सूची प्रकाशन गरी धाराको लाइन काटेरै भए पनि बक्यौता असुल गर्ने योजना बनाएको प्रमुख महर्जनले जानकारी दिए ।

Advertisement

खानेपानी उपभोग गरेबापतको महसुल नबुझाउनेमा पूर्वमन्त्री, पूर्वन्यायाधीश, उद्योगी व्यवसायी, समाजसेवी, विभिन्न दलका नेता, कर्मचारीलगायत छन् । खानेपानीको महसुल नतिर्नेको सूचीमा रहेका व्यक्तिको नाम स्थानीय तहका वडा–वडामा टाँस गरिएको र पटक–पटक स्थानीय पत्रिकामा समेत सार्वजनिक गर्दा पनि अझै बक्यौता रकम उठाउन नसकिएको प्रमुख महर्जनको भनाइ छ ।

वीरगन्ज महानगरपालिकाभित्र खानेपानी संस्थानका आठ हजार ग्राहक रहेकामा सात हजारले महसुल तिरिरहेको तर पुरानो बक्यौताको रकम उठाउन नसकिएको महर्जनको भनाइ छ । उनले ताकेता गर्दासमेत रकम उठाउन नसक्ने भएपछि धारा काटेर रकम असुल गर्ने अवस्थामा संस्थान पुगेको बताए ।

विद्यमान खानेपानी संस्थानको ऐन परिमार्जन गरेर पानी महसुलको रकम नतिर्ने व्यक्तिको नाम कर्जा सूचना केन्द्रमा कालोसूचीमा राखी बैंकिङ कारोबार रोक्ने गरी कानुन परिमार्जनको तयारीमा मन्त्रालय रहेको प्रमुख महर्जनले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *