Categories समाचार

प्रमुख रिना साहको पद तत्काल कायम राख्न सर्वोच्चको आदेश

Advertisement

वीरगञ्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी रिना साहको मेयर पद तत्काललाई जोगिएको छ । रौतहटको मौलापुर नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेबाट निर्वाचित साहको पद तत्काल कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो । 

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रवार साहलाई नगरपालिकाको प्रमुख पदमा रही यथावत् काम कारबाही गर्न दिनू भनी विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो । 

Advertisement

‘मौलापुर नगरपालिकाको निवेदीकाका निर्वाचित भएको नगरप्रमुख पद रिक्त भएको भनी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट भएको निर्णय तथा सो सम्बन्धमा निर्वाचन आयोगलाई गरेको पत्राचार, निवेदीकाको नगर प्रमुख पद स्वतः रिक्त भएको भनी निर्वाचन आयोगबाट मिति असोज २९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सूचनासमेत हाललाई कार्यान्वयन नगर्नू, नगराउनू,’ आदेशमा भनिएको छ ।

Advertisement

साहले दल त्याग गरेको भन्दै प्रमुख पद स्वतः रिक्त हुनुपर्ने भनी एमालेले निवेदन दिएपछि निर्वाचन आयोगले असोज २९ गते पद रिक्त भएको निर्णय गरी सूचना प्रकाशित गरेको थियो । निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार साहले दल त्याग गरेकाले मेयर पद रिक्त भएको सूचना निकालेको थियो ।

साह २०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएकी थिइन् ।  उनले आफूले दल त्याग नगरेको दाबीसहित रिट लिएर सर्वोच्च पुगेकी थिइन् । उनको पक्षबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, रामनारायण बिडारी, अधिवक्ताहरू भीमार्जुन आचार्य‚ वीरेन्द्र साहलगायतले बहस गरेका थिए ।

नेकपा एमालेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रविनारायण खनाल, महेशकुमार नेपाल, ईश्वरी भट्टराई, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *